राष्ट्रिय हितको विषयमा प्रधानमन्त्री बोल्न नसक्नु लज्जाको विषयः उपमहासचिव ज्ञवाली
३१ जेठ, हेटौँडा । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले मुलुकको राष्ट्रिय स्वाधिनतामाथि गम्भिर चुनौती थपिएको बताउनुभयो ।
बुधबारबाट हेटौंडामा नेकपा एमाले मकवानपुरले आयोजना गरेको २ दिने जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दे उपमहासचिव ज्ञवालीले राष्ट्रिय स्वाधिनतामाथि गम्भिर चुनौती थपिएकोले सबै क्षेत्रका नागरिकहरु राष्ट्रको पक्षमा उभिनुपर्ने बताउनुभयो । उहाँले सरकारले जतिनै बचाउ गरेपनि देशको अर्थतन्त्र संकटपूर्ण अवस्थामा पुगिसकेको उल्लेख गर्नुभयो । २०६२–६३ को आन्दोलन र नयाँ संविधान जारी भएपछि जगाएका सपनाहरु पुरा हुन नपाएका कारण जनतामा नैराश्यता छाएको उपमहासचिव ज्ञवालीको भनाई थियो । उहाँले वर्तमान राजनीतिक परिवेशमा समाज अराजकताको मार्गतर्फ अघि बढेको समेत बताउनुभयो ।
पूर्व परराष्ट्रमन्त्री समेत रहनुभएका उपमहासचिव ज्ञवालीले भारत भ्रमणको क्रममा प्रधानमन्त्रीले राष्ट्र हित विपरीत सम्झौता गरेको आरोप समेत लगाउनुभयो । सीमा समस्या, इपिजीको प्रतिवेदन, व्यापार घाटाको विषयमा प्रधानमन्त्री बोल्न नसक्नु लज्जाको विषय भएको उहाँको भनाई छ ।
नेकपा एमाले मकवानपुरले बुधबारबाट सुरु गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम बिहीबार चल्ने छ ।













