कांग्रेसले सरकार र सत्ताको लागि विचारसंग सम्झौता गर्दैनः महामन्त्री थापा

स्वर्णिम खबर
२९ जेष्ठ २०८०, सोमबार १९:०२

२९ जेठ, हेटौँडा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी चुनावमा कांग्रेसले कसैसंग तालमेल नगर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नं. २ र प्रतिनिधिसभा क्षेत्र नं. २(ख) को संयुक्त क्षेत्रीय सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले सरकार र सत्ताको लागि विचारसंग सम्झौता नगर्ने बताउनुभयो । कांग्रेसको लागि विचार र सिद्धान्त नै महत्वपूर्ण कुरा रहेको उहाँको भनाई थियो । महामन्त्री थापाले कम्युनिष्ट पार्टीहरु उग्रवादी चिन्तनको प्रतिनिधिको रुपमा रहेको जिकिर समेत गर्नुभयो । आगामी भाद्र महिनामा कांग्रेसले नीति अधिवेशन गर्ने उल्लेख गर्दै महामन्त्री थापाले वडा देखि राष्ट्रपतिको चुनावसम्म अरु दल एक ठाउँ भएपनि कांग्रेस एक्लै चुनावमा होमिने बताउनुभयो । कांग्रेस समस्या देखाउने नभई समस्याको समाधान निकाल्ने पार्टी भएको महामन्त्री थापाले दाबी गर्नुभयो ।
महामन्त्री थापाले पार्टीभित्र निराशा रहेकोले बहसलाई बलियो बनाउनुपर्ने बताउनुभयो । उहाँले नेता कार्यकर्तालाई चुनाव हारिएला कि भन्ने चिन्ता नगर्न पनि आग्रह गर्नुभयो । कांग्रेस चुनाव जित्न नभई देशलाई जिताउने पार्टी भएको उहाँको भनाई छ ।
कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानिंया, मकवानपुर सभापति बुद्ध लामा, पूर्व जिल्ला सभापति रघुरमण न्यौपाने, रामचन्द्र अर्याल माइकल, मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेती लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*