बजेटबारे ओलीको टिप्पणीः बजेट नेपाल र नेपालीको राष्ट्रिय आकांक्षाप्रति विमुख
२३ जेठ, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको बजेट नेपाल र नेपालीको राष्ट्रिय आकांक्षाप्रति विमुख रहेको बताउनु भएको छ ।
समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने कुराभन्दा पनि बजेटमा अकर्मण्यता र शिथिलता मात्रै रहेको अध्यक्ष ओलीको भनाई थियो । मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले बजेटमा मुलुकको अर्थतन्त्रलाई सुदृढ गर्ने कुनै पनि भिजन नभएको दावी समेत गर्नु भयो । बजेटमा चिलको आँखाको जस्तो भिजन हुनुपर्नेमा लाटोकोशेराको जस्तो भएको उल्लेख गर्दै उहाँले त्यसले मुलुकको अर्थतन्त्रलाई अघि बढाउन नसक्ने बताउनु भयो । त्यस अवसरमा ओलीले बजेटबारे आफूले गरेको टिप्पणीलाई आलोचना गर्न भन्दा पनि उपलब्धिमा देखाउन सत्तारुढ गठबन्धनलाई चुनौति दिनु भयो अध्यक्ष ओलीले बजेटलाई सुतेर बसेको अझिंगरसँग तुलना समेत गर्नु भयो । सुतेर बसेको अझिंगरले जस्तो बजेटमा भन्सारबाट आउँला र खाउँला भन्ने आशामात्रै रहेको ओलीले बताउनु भयो ।
संसद्मा आफ्नो भनाई राख्ने क्रममा अध्यक्ष ओलीले बजेट सच्याउन सरकारसँग माग समेत गर्नुभयो । बजेट सच्याए सरकार असफल भयो भनेर आफूहरुले नभन्ने अध्यक्ष ओलीको भनाई थियो । उहाँले सत्तारुढ दलहरुले अहंकार देखाएर बजेटमा कमा र फुलिष्टप पनि सच्याउन नचाहे परिणामले सो अहंकारलाई झारिदिने चेतावनी दिनुभयो । अध्यक्ष ओलीले बजेटले उत्पादन, उत्पादकत्व बढाउने, रोजगारीको कुनै पनि बाटो नदेखाएकाले त्यसलाई सच्याउन उपयुक्त हुने जिकीर समेत गर्नु भयो ।
अध्यक्ष ओलीले राजस्व अपचलन हुने गरी बजेट आएको दावी समेत गर्नु भयो ।













