बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
१९ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेशसभाबाट बहुमतले पारित भएको छ ।
शुक्रबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नीति तथा कार्यक्रमको छलफलको क्रममा सांसद्हरुले उठाएका जिज्ञाशाको जवाफ दिएसंगै प्रदेशसभाबाट बहुमतले नीति तथा कार्यक्रम पारित भएको हो । यसैगरी नीति तथा कार्यक्रममा माथि सुरेन्द्रराज गोशाई, सृजना सैजु, प्रकाश श्रेष्ठ, मधुसुदन पौडेल र एकालाल श्रेष्ठले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । प्रदेशसभामा जवाफ दिने क्रममा मुख्यमन्त्री जम्कट्टेलले सांसद्हरुले राखेको रचनात्मक सुझावलाई आत्मसात् गरेर नै बजेट ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले प्रतिपक्षी हुँदैमा विरोध नै गर्नुपर्छ भन्ने भावना त्याग्न आग्रह समेत गर्नुभयो । यसैगरी प्रदेश प्रमुख यादवचन्द्र शर्माले सम्बोधन गर्ने क्रममा खाली फाइल परेकोमा गल्ती स्वीकार गर्दै त्यस विषयमा आवश्यक अनुसन्धान भइरहेको मुख्यमन्त्री जम्कट्टेलले स्पष्ट समेत पार्नुभयो । जवाफ दिने क्रममा मुख्यमन्त्री जम्कट्टेलले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग लगायतको क्षेत्रमा नयाँ कार्यक्रमहरु समावेश गरेर आगामी आर्थिक वर्ष ल्याउने समेत बताउनुभयो । अर्को सुचना जारी नभए सम्मको लागि प्रदेश सभा बैठक स्थगित भएको सभामुख भुवन पाठकले जानकारी दिनुभयो ।













