बागमती प्रदेशसभामा अखण्ड भारतको नक्साविरुद्ध संकल्प प्रस्ताव सर्वसम्मतिले पारित
१७ जेठ, हेटौँडा । भारतको नयाँ संसद भवनमा राखिएको अखण्ड भारतको नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु क्षेत्र समेटिएको विरोधमा बागमती प्रदेशसभामा संकल्प प्रस्ताव पारित भएको छ ।
बुधबार बसेको प्रदेशसभा बैठकमा एमालेले प्रदेशसभा नियमावली २०७४ को परिच्छेद १३ बमोजिम संकल्प प्रस्ताव पेस गरेको थियो । प्रदेशसभाको दोस्रो कार्यकालमा बुधवार पहिलोपटक संकल्प प्रस्ताव पेस भएको हो । एमाले बागमती प्रदेशका प्रमुख सचेतक मधुसुदन पौडेलले पेश गर्नुभएको संकल्प प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । सभामुख भुवनकुमार पाठकले निर्णायार्थ पेस गरेको संकल्प प्रस्तावलाई प्रदेशसभामा प्रतिनिधित्व गर्ने एमालेसहित कांग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा, नेकपा (एकीकृत समाजवादी), नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टीले समर्थन गरेका थिए । प्रस्तावक पौडेलले नेपालको लुम्बिनी कपिलवस्तु भूभाग समेटेर आफ्नो संसद् भवनमा नक्सा राखेकोमा प्रदेशसभाको ध्यानाकर्षण भएको र उक्त नक्सा सच्याउन कूटनीतिक रूपमा नेपाल सरकारले पहल गर्नुपर्ने बताउनुभयो ।
यसैगरी बुधबारकै प्रदेशसभा बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम माथि पनि छलफल सुरु भएको छ । छलफलमा बोल्दै प्रतिपक्षका सांसद्हरुले सरकारले विगतकै कार्यक्रमलाई निरन्तरत दिएको टिप्पणी गरेका छन् । सरकारले केही गौरवका आयोजनाहरु समेत कटौती गरेकोमा उनीहरुले आपत्ती जनाएका छन् । यसैगरी सत्तापक्षका सांसद्हरुले भने नीति तथा कार्यक्रमको बचाउ गरेका छन् । उनीहरुले प्रतिपक्षी दल नेकपा एमालेलाई विरोधको लागि विरोध गर्नुपर्ने भावना त्याग्न आग्रह गरेका छन् यद्यपी नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सरकारलाई चुनौती रहेको सत्तापक्षकै सांसद्हरुको भनाई छ ।
प्रदेशसभाको अर्को बैठक बिहिबार बिहान १०ः३० बजे बस्ने गरी स्थगित भएको छ ।













