भारत भ्रमणमा रक्सौल—वीरगञ्ज—सिमरा नाकाको वैकल्पिक सम्भाव्यताबारे छलफल हुन्छः मन्त्री साउद
१६ जेठ, काठमाडौँ । सरकारले नेपाल—भारत जोड्ने रक्सौल—वीरगञ्ज—सिमरा नाकाको वैकल्पिक सम्भाव्यताका लागि भारत सरकारसँग छलफल गर्ने भएको छ ।
मंगलवार सिंहदरबारमा पत्रकार सम्मेलन आयोजना गर्दै परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले रक्सौल—वीरगञ्ज—सिमरा नाका धेरै ब्यस्त हुने भएकाले यस मार्गको विकल्पमा अर्को मार्गसहितको नयाँ नाकाका बारेमा भारत सरकारसँग सम्भाव्य स्थानहरुको बारेमा छलफल गर्ने बताउनुभएको हो । उहाँले नेपालगञ्ज, भैरहवा र विराटनगर लगायतका अन्य नाकाहरु पनि चलायमान बनाउने बारेमा छलफल भइरहेको जानकारी दिनुभयो । उहाँले भ्रमणबाट सकारात्मक उपलब्धि हाँसिल हुने विश्वास रहेको बताउनु भयो । उहाँले नेपालको सुदूरपश्चिम र उत्तराखण्ड जोड्नका लागि पक्की पुल निर्माणको कामका बारेमा पनि प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा छलफल हुने बताउनु भयो । उहाँले प्रधानमन्त्रीको भ्रमणपछि दुवै देशको सम्बन्ध थप बलियो हुने विश्वास व्यक्त गर्नुभयो ।
परराष्ट्रमन्त्री साउदले विद्युत आयोजनामा भारतीय लगानी आकर्षित गर्ने, नेपालका ट्रान्समिसन लाइन निर्माण गरी विद्युत व्यापारको वातावरण बनाउने, भारतसँगै बंगलादेशसँगको विद्युत व्यापार गर्ने कुरामा पनि सरकारको जोड रहने उल्लेख गर्नुभयो । उहाँले भ्रमणमा नेपालमा विद्युत बिक्री हुने बजारलाई मध्यनजर गरेर भारतसँग लङ टर्म पावर डिल गर्ने प्रयास हुनेपनि बताउनु भयो । नेपाल र भारत सरकारबीच विभिन्न कालखण्डदेखि थाँती रहेका सीमादेखि अन्य मुद्दाहरुमा समेत छलफल हुने उहाँले बताउनुभयो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा बुधवारबाट तीन दिने भ्रमणमा भारत जान लाग्नुभएका प्रधानमन्त्री दाहालले भारतीय समकक्षी मोदीसँग दिव्पक्षिय वार्ता गर्नुहुनेछ ।













