बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

स्वर्णिम खबर
१४ जेष्ठ २०८०, आईतवार १६:५९

१४ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
आइतबार बसेको प्रदेशसभा बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख यादवचन्द्र शर्माले दीगो विकासको अवधारणा अनुसार योजना निर्धारण गरिने बताउनुभयो । प्रदेश प्रमुख शर्माले प्रदेश सरकारको भूमिका थप मजबुत बनाउन संघीय सरकार र स्थानीय सरकारसँगको समन्वयलाई प्रभावकारी बनाउने समेत उल्लेख गर्नुभयो । नीति तथा कार्यक्रममा सामाजिक न्यायको माध्यमबाट प्रदेश समृद्धिका योजना तर्जुमा गर्ने, प्रदेशको सन्तुलित विकासका लागि ठुला आयोजना छनौट गरी कार्यान्वयनमा ल्याइने योजना समेत उल्लेख गरिएको छ ।
यसैगरी नीति तथा कार्यक्रममा एक माध्यमिक विद्यालय, एक नर्स कार्यक्रमलाई विस्तार गर्दै कक्षा १२ सम्म सञ्चालन गर्नें नीति उल्लेख गरिएको छ । प्रदेश प्रमुख शर्माले कक्षा १२ सञ्चालन भएका प्रदेशका सबै माध्यमिक विद्यालयमा सो कार्यक्रम विस्तार हुने बताउनुभयो । यसैगरी मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमलाई थप बिस्तार गरेर समुदाय स्तरमा लैजाने समेत उहाँले प्रदेशसभामा जानकारी गराउनुभयो । प्रदेश सरकारले गृहणी महिलासँग प्रदेश सरकार’ कार्यक्रम संचालनको घोषणा समेत गरेको छ । एक प्रदेश निर्वाचन क्षेत्र एक प्राङ्गारिक मल उत्पादन केन्द्र स्थापना गर्ने लक्ष्य पनि प्रदेश सरकारले नीति तथा कार्यक्रममा समेटेको छ ।
प्रदेश सरकारले राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धाका लागि सक्षम तथा व्यवसायी खेलाडी तयार गर्न खेलको पूर्वाधारको विकास गर्दै प्रशिक्षणको विकास गर्ने प्रदेश प्रमुख शर्माले बताउनुभयो । साथै उहाँले स्थानीय स्तरमा खेलकुदलाई प्रोत्साहन गर्ने नीतिलाई निरन्तरता दिने बताउनुभयो ।
नीति तथा कार्यक्रममाथि जेठ १७ गतेदेखि छलफल शुरू हुनेछ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*