पूर्वलडाकुको शिविरमा दोषी देखिए जेल जान तयार छुः प्रधानमन्त्री दाहाल
४ जेठ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली भूटानी शरणार्थी प्रकरणका दोषि जुनसुकै तहका व्यक्ति भएपनि कानूनी कारबाहीको दायरामा ल्याइने बताउनुभएको छ ।
बिहीवार प्रतिनिधि सभाको बैठकमा सांसद्हरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले दोषी जुनसुकै तहका पदाधिकारी तथा व्यक्ति भएपनि कानूनी दायरामा ल्याउन कुनै कसर बाँकी नराख्ने बताउनुभयो । उहाँले प्रहरीको निष्पक्ष र व्यवसायिक अनुसन्धानमा हालसम्म कुनैपनि हस्तक्षेप नभएको र आगामी दिनमा पनि हस्तक्षेप नगरिने स्पष्ट पार्नुभयो । यसैगरी प्रधानमन्त्री दाहालले पूर्वलडाकुको शिविरमा भ्रष्टाचार छानबिन गरी दोषी देखिए जेल जान तयार रहेको समेत बताउनुभयो । उहाँले पूर्वलडाकुको शिविरमा भ्रष्टाचार गरेको भन्ने आरोप कपोकल्पित र पूर्वाग्रही भएको जिकिर गर्नुभयो ।
यस्तै प्रधानमन्त्री दाहालले निकट समयमा हुने भारत भ्रमणमा राष्ट्रिय हीत, एकता, अखण्डता र स्वाधिनतामा कुनै किसिमको सम्झौता नहुने स्पष्ट पार्नुभयो । उहाँले आफूहरु नेपालको एक इन्च जमिनपनि छोड्न नसक्ने स्पष्ट पार्दै सोही मान्यताभित्र रहेर भारतसँग कुराकानी हुने बताउनु भयो । प्रधानमन्त्री दाहालले सीमा सम्बन्धी सबै समस्याहरु कुटनीतिक माध्यमबाट समाधान गरिने बताउनुभयो ।
संसद्मा बोल्नुहुँदै प्रधानमन्त्री दाहालले सर्वोच्च अदालतको फैसलाका कारण लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न नसकिएको बताउनुभयो । उहाँले राष्ट्रिय सूचना आयोगले हालेको मुद्दामा सुनुवाइ गर्दै सर्वोच्च अदालतले नै लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न नदिएको आदेश आएको जानकारी दिनुभयो । तर अब आदेशको पुनरावेदन गरेर भए पनि प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्री दाहालको प्रतिबद्धता छ ।













