लोकतन्त्रको पर्याय ठान्ने दलहरुकै कारण देश संकटको भुमरीमाः अध्यक्ष लिङदेन

स्वर्णिम खबर
१ जेष्ठ २०८०, सोमबार १७:३१

१ जेठ, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रमुख राजनीतिक दलहरुकै कारण मुलुक गम्भीर संकटतर्फ उन्मुख भएको बताएको छ ।
सोमवार पार्टीको राजनीतिक प्रतिवेदन प्रश्तुत गर्दै पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले प्रमुख दलहरुको सत्ता लिप्साकै कारण मुलुकमा गम्भीर आर्थिक संकट देखापरेको बताउनुभयो । उहाँले मुलुकका तीन प्रमुख अंगहरुका बीच रहनुपर्ने शक्ति नियन्त्रण र सन्तुलनको व्यवस्था ध्वस्त भएको जिकिर गर्नुभयो । कमजोर अर्थतन्त्र, बढ्दो युवा बेरोजगारी, राज्यका सबै अंगमा भ्रष्टाचार र भ्रष्टाचारमा प्रायः सबै प्रमुख राजनीतिक दलहरुको संलग्नता, वैदेशिक नीतिमा आएको असन्तुलन सामान्य अवस्था नरहेको राप्रपाको ठहर छ । वैदेशिक सम्बन्धलाई सत्ता आरोहणको रुपमा प्रयोग गर्ने आलोकाँचो व्यवहारका कारण नेपालको वैदेशिक सम्बन्ध पूर्ण रुपमा खल्बलिन पुगेको अध्यक्ष लिङदेनले बताउनुभयो ।
पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष लिङदेनले लोकतन्त्रको पर्याय ठान्ने केही राजनीतिक दलका कारण देश संकटको भुमरीमा फसिरहेको उल्लेख गर्नुभयो । उहाँले अकर्मण्य नेतृत्व र सत्ता लिप्साको प्रतिफल नेपालको राष्ट्रियता, राष्ट्रिय एकता अखण्डता, सार्वभौमिकता संकटग्रस्त बनेको बताउनुभयो । अध्यक्ष लिङदेनले देशमा वाह्य चलखेल तिब्र रुपमा बढेको, लोकतन्त्रको आवरणमा नव सामन्तवाद र सर्वसत्तावाद हाबी भएको समेत जिकिर गर्नुभयो । विदेशीको आग्रहमा सम्पन्न १२ बुँदे सहमतिको मार्गचित्र गलत भएको प्रमाणित भएको उहाँले दाबी गर्नुभयो ।
अध्यक्ष लिङदेनले यस पटक देश भित्रकै दलले सरकार निर्माण गर्न सक्छन् भन्ने प्रमाणित गरेपनि प्रधानमन्त्री पुष्पकमल दाहाल विदेशीको इसारामा चल्दा सरकार छोडेर प्रतिपक्षमा बस्नुपरेको बताउनु भयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*