सरकारले भ्रष्टाचारबिरुद्ध फाइल मात्रै नभइ फायर नै खोल्नुपर्छः महामन्त्री शर्मा

२६ वैशाख, काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले भ्रष्टाचारबिरुद्ध फाइल मात्रै नभइ फायर खोल्नुपर्ने बताउनुभएको छ ।
मंगलवार प्रतिनिधिसभा बैठकमा बोल्नुहुँदै महामन्त्री शर्माले नक्कली भूटानी शरणार्थी भ्रष्टाचारको फाइललाई सरकारले निष्कर्षकमा पु¥याउनुपर्ने बताउनुभयो । उहाँले सरकारले भ्रष्टाचारका बिरुद्ध फाइल मात्रै नभएर फायर खोल्दै निर्दोष कोही फस्नु नहुने र दोषी कोही बच्नु नहुने बताउनुभयो । महामन्त्री शर्माले भ्रष्टाचारको छानबिन गर्न पाँच वर्षको हद म्यादको प्रश्ताव राख्नु शुन्य सहनशिलताको नीतिसँग विरोधाभास हुने उल्लेख गर्नुभयो उहाँले भ्रष्टाचारका विषयमा किन्तु, परन्तु नगरी छानबिनमा राज्यले कठोरतापूर्वक जानुपर्ने बताउनु भयो ।
महामन्त्री शर्माले राजनीतिक दल र सांसदहरुले बितेका दशकको आत्मासमिक्षा गर्दै त्यसको जगमा आगामी दशकको बारेमा दृष्टिकोणहरु बनाउन आवश्यक रहेको बताउनु भयो । बितेको ७० वर्ष यता एक जना पनि प्रधानमन्त्रीले पाँच वर्षसम्म मुलुकको नेतृत्व गर्न नपाएको भन्दै उहाँले यो पाँच वर्ष पनि एउटै प्रधानमन्त्रीको नतृत्वमा जान्छौं भन्न नसकिरहेको बताउनुभयो । उहाँले कुनैपनि दल कुनैपनि बेला सत्तामा जानसक्ने र प्रतिपक्षमा जान सक्ने स्थिति सुन्दर नभएको प्रतिक्रिया दिनुभयो । महामन्त्री शर्माले संकटमा परेको अर्थतन्त्र उकास्न सरकारलाई ९ बुँदे सुझाव दिनुभयो ।