सबैभन्दा बढि भ्रष्टहरु नै भ्रष्टाचारविरुद्ध बोलेका छन्ः प्रधानमन्त्री दाहाल
१८ वैशाख, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले २०४८ सालयताका सबै भ्रष्टहरुलाई कारबाही गर्ने बताउनु भएको छ ।
प्रधानमन्त्री दाहालले पार्टीको चुनावी घोषणा पत्रमा उल्लेख भएअनुसार आयोग बनाएर छानवीन गरी ती भ्रष्टहरुलाई कारबाही गर्ने बताउनु भएको हो । अखिल नेपाल ट्रेड युनियन महासंघले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले छिट्टै आयोग गठनगरी भ्रष्टहरुलाई कारबाही गर्ने प्रक्रिया सुरु गरिहाल्ने पनि बताउनुभयो । अहिले सबैभन्दा बढि भ्रष्टहरु नै भ्रष्टाचारविरुद्ध बोलेको देख्दा आफूलाई अनौठो लागिरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले उनीहरुलाई छानवीन गर्नका लागि तत्काल पहलकदमी लिने उल्लेख गर्नुभयो । उहाँले पूर्व राजा ज्ञानेन्द्र शाहप्रति संकेत गर्दै भ्रष्टाचारविरुद्ध कडा वक्तव्य दिएपछि इतिहासको फोहोरको डुंगुरमा फालिएकाहरु फेरी बाहिर निस्कने प्रयास गरेको भन्दै त्यस्ता प्रवृत्तिको विरुद्ध खडा हुन पनि पार्टीका, नेता, कार्यकर्तालाई निर्देशन दिनु भयो ।
प्रधानमन्त्री दाहालले बहिर्गमित लडाकुहरुलाई २ लाखका दरले राहत दिने निर्णय आफूले नगरेको पनि दोहो¥याउनु भयो । अघिल्लो सरकार र सर्वोच्च अदालतको फैसला अनुसार आफूले उनीहरुलाई राहत दिन लागेपनि स्याल हुँइया मच्याउन खोजिएको उहाँको भनाई थियो । प्रधानमन्त्री दाहालले यो परिवर्तन उल्टयाउने गरी स्यालहरु कराउन थालेको भन्दै त्यसको प्रतिरोध गर्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गर्नु भयो ।
प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट श्रमिकमुखि बनाउन आफूले विशेष ध्यान दिएको पनि बताउनुभयो ।













