बागमती प्रदेशसभामा दुई वटा विधेयक फाष्ट ट्रयाकबाट पारित
१२ वैशाख, हेटौंडा । बागमती प्रदेशसभाले दुई वटा विधेयकलाई फाष्ट ट्रयाकबाट पारित गरेको छ ।
मंगलबार बसेको बैठकबाट मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र चिठ्ठा व्यवस्थापन सम्बन्धी विधेयक फाष्ट ट्रयाकमा पारित भएको हो ।
बैठकमा सांसद रत्न ढकालले प्रदेशसभा नियमावली २०७४ को नियम ११० को उपनियम १ को सामान्य छलफल समाप्त भएको ७२ घण्टाभित्र संशोधनसहितको सूचना दिनुपर्ने नियम नियमावलीको नियम २११ को उपनियम १ बमोजिम निलम्बन गर्न प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकमा उक्त प्रस्ताव सर्वसम्मत पारित भएको थियो ।
नियम निलम्बनपछि बैठकमा स्वास्थ्य मन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पेश गर्नुभएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ को साविकको व्यवस्था जगाउने सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतीले पारित भएको हो ।
त्यस्तै आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले पेश गरेको प्रदेश स्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बहुमतले पारित भएको हो ।
अर्को सचुना जारी नभएसम्मको लागि प्रदेशसभा बैठक स्थगित भएको सभामुख भुवन पाठकले बताउनुभयो ।













