बागमती प्रदेशः कांग्रेसले विश्वासको मत दिने, एमाले अनिर्णित, प्रदेशसभा बैठक १० गते बस्ने

स्वर्णिम खबर
८ चैत्र २०७९, बुधबार १७:५५

८ चैत्र, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले अब चैत्र १० गते शुक्रबार विश्वासको मत लिनुहुने भएको छ ।
कांग्रेसका सांसद्हरु हेटौंडा नआइपुगेकोले बुधबार लिने भनिएको विश्वासको मत शुक्रबार दिनको १ बजेको लागि सारिएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले दोस्रोपटक विश्वासको मत लिन लाग्नुभएको हो । यद्यपी काठमाडौंमा बुधबार बसेको कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने निर्णय गरिसकेको छ । मंगलबार नेपाली कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिको बैठकले पनि मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने निर्णय गरेको थियो ।
यता सरकारमै रहेको नेकपा एमालेले भने अहिलेसम्म मुख्यमन्त्रीलाई विश्वासको मत दिने÷नदिने निर्णय गरेको छैन । बागमती प्रदेश एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रदेशसभा बैठकमा संबोधन गरेर मात्र सरकार छोड्ने बताउनुभयो । आफूहरु प्रदेश सरकारबाट हट्न तयार रहेको तर प्रदेशसभा बैठकमा आफ्ना धारणा राखेरमात्र राजीनामा दिने नेता थपलियाले प्रस्ट पार्नुभयो ।
११० जना सांसद रहेको प्रदेशसभामा सामान्य बहुमतका लागि कम्तीमा ५६ जना सांसदको समर्थन आवश्यक पर्छ । प्रदेशमा सबैभन्दा ठूलो दल कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १२, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*