प्रदेश सरकारको समीकरण एमालेको निर्णयमा भर पर्छः मन्त्री श्रेष्ठ

२८ फागुन, हेटौँडा । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले केन्द्र सरकारमा नयाँ गठबन्धन बने पनि प्रदेश सरकारको नेतृत्व परिवर्तन नहुने बताउनुभएको छ ।
मन्त्री श्रेष्ठले बागमती प्रदेशमा केही असर परे पनि नेतृत्व भने परिवर्तन नहुने बताउनुभयो । केन्द्रमा कांग्रेस सहितको गठबन्धन बनेपछि प्रदेश सरकारमा पनि समीकरण फेरबदलको गृहकार्य भइरहेको बेला मन्त्री श्रेष्ठले आफूहरुले राष्ट्रिय सहमतीका लागि प्रयास गर्ने बताउनुभयो । तर जबरजस्ती सरकारमा बस्नुस् भनेर भन्न नसक्ने मन्त्री श्रेष्ठको भनाइ छ । सरकारमा रहने कि नरहने भन्ने विषयमा एमालेका मन्त्रीहरुको फरक फरक अभिव्यक्ति सार्वजनिक भएको मन्त्री श्रेष्ठले बताउनुभयो । प्रदेश सरकारको समीकरण कस्तो हुन्छ भन्ने विषय एमालेको निर्णयमा भर पर्ने उहाँले स्पष्ट पार्नुभयो ।
यसैगरी मन्त्री श्रेष्ठले प्रदेश सरकार मातहतमा प्रहरी प्रशासन नहुँदा व्यवहारिक कठिनाइहरु भएको बताउनुभएको छ । संघीय सरकारले प्रहरी समायोजनको लागि पारित गरेको कानुनलाई समेत कार्यान्वयन गर्न नसकेको उहाँले जिकिर गर्नुभयो । प्रदेश सरकारले ५० लाख भन्दा कमको आयोजनामा बजेट नहाल्नका लागि छलफल भइरहेको मन्त्री श्रेष्ठले बताउनुभयो । जनताले प्रदेश सरकारको अनुभुति गर्न सक्ने गरी बजेट बिनियोजन गर्ने उहाँले स्पष्ट पार्नुभयो ।
मन्त्री श्रेष्ठले गणतन्त्र र संघीयताविरुद्ध माहोल तयार गर्ने काममा युट्युब प्रयोग भइरहेको भन्दै त्यसलाई नियमन गर्ने समेत बताउनुभयो ।