प्रदेश निजामती र स्थानीय तहको सेवा गठन सम्बन्धी विधेयक प्रदेशसभामा पेश
१० फागुन, हेटौंडा । बागमती प्रदेश सभामा २ वटा विधेयकमाथि सामान्य सैद्धान्तिक छलफल भएको छ ।
बुधबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा २ वटा अध्यादेशका प्रतिस्थापन बिधेयक पेश भएको थियो । मुख्यमन्त्री शालिकराम जम्कटेलले स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक २०७९ र प्रदेश निजामती सेवाको गठन सञ्चालन र सेवाका सर्तहरूको सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक २०७९ लाई प्रदेश सभाको बैठकमा पेश गरेका थिए । बुधबार दिउँसो बसेको दोस्रो बैठकमा मुख्यमन्त्री जम्कटेलले सभामा प्रस्तुत गरेको २ वटा विधेयकमाथि सामान्य सैद्धान्तिक छलफल समेत भएको छ । छलफलमा प्रदेशसभाका सदस्यहरुले सरकारले सभामा पेश गरेको विधेयकहरुमा बृहत छलफल हुनुपर्ने बताएका छन् । यस्तै बैठकको शुन्य समयमा प्रदेश सभाका सदस्यहरुले विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । प्रदेशसभाको अर्को बैठक फागुनन १३ गते शनिवार दिउँसो ४ बजे बस्ने छ ।













