जनताको हित र न्यायका पक्षमा प्रदेशसभा सधैं क्रियाशील रहनुपर्छः प्रदेश प्रमुख शर्मा

स्वर्णिम खबर
२६ माघ २०७९, बिहीबार १६:५७

२६ माघ, हेटौँडा । बागमती प्रदेशको प्रदेश प्रमुख यादब चन्द्र शर्माले प्रदेश सरकारप्रति जनताको आशा र भरोसामा कुनै किसिमको कमी आउन दिन नहुने वताउनुभएको छ ।
बिहिबार प्रदेशसभा बैठकलाई संबोधन गर्दै प्रदेश प्रमुख शर्माले प्रदेश सरकारका नीति,कार्यक्रम, बजेट लगायतका विषयमा जनताको हित र न्यायका पक्षमा केन्द्रित रहन प्रदेशसभा सधैं सचेत र क्रियाशील हुन आवश्यक रहेको बताउनुभयो । उहाँले बागमती प्रदेशसभाको पहिलो कार्यकालमा मुल विधेयकका साथै संशोधन विधेयक, सालबसाली आर्थिक विधेयक र विनियोजन विधेयक समेत गरी ७० वटा विधेयकहरु पारित भएकोमा प्रशंसा समेत व्यक्त गर्नुभयो ।
प्रदेशसभाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ तुल्याउन, कर्मचारी प्रशासनलाई प्रभावकारी बनाउन र सेवाग्राहीहरुलाई सर्वसुलभ सेवा उपलब्ध गराउँन आवश्यक पर्ने जनमुखी कानूनहरु निर्माण गरी प्रदेशसभाको सान्दर्भिकतालाई पुष्टी गर्नेमा आफु विश्वस्त रहेको प्रदेश प्रमुख शर्माले बताउनुभयो ।
प्रदेश प्रमुख शर्माले आवश्यक नीति, नियम र कानूनको निर्माण एवम् परिपालना, छुवाछुत, महिला हिंसा, मानव बेचविखन र लागूऔषध ओसारपसार जस्ता विकृती विसंगतीहरुको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।
यसैगरी बैठकलाई सम्बोधन गर्नुुहुँदै उहाँले वनहरुको संरक्षण र सदुपयोग गरी हेटौंडा वरिपरिका सम्भावित क्षेत्रहरुमा मरिच खेती र नदी किनाराका भिराला पाखाहरुमा चिउरी, केरा, आँप, कटहर, भूँइकटहर, लिची, एभोकाडो जस्ता फलफूल लगाई खानपान शैली परिवर्तन गर्नुपर्ने बताउनुभयो । बागमती प्रदेशले हाइड्रोजन प्लान्ट स्थापना गरी उर्जाको क्षेत्रमा वृहत परिवर्तन ल्याउने सम्भावना बोकेको उल्लेख गर्नुभयो ।
प्रदेश प्रमुख शर्माले परम्परागत निर्वाहमुखी कृषि प्रणालीलाई आधुनिक व्यवसायीक कृषि प्रणालीमा रुपान्तरण गर्ने वातावरण निर्माण गरी कृषि क्षेत्रमा आत्मनिर्भर हुने गरी योजना तर्जुमा गर्न समेत सुझाव दिनुभयो ।
प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १८४ बमोजिम बिहीबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्नुभएको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*