बागमतीमा ११ वटा मन्त्रालय रहने, राज्यमन्त्री नरहने
१० माघ, हेटौंडा। बागमती प्रदेशमा १४ मन्त्रालयलाई घटाएर ११ वटामा कायम गरिने भएको छ ।
प्रदेशमा मन्त्रालय निर्धारण गर्नका लागि गठित कार्यदलले मंगलबार मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई प्रतिबेदन बुझाए लगत्तै ११ वटा मन्त्रालय कायम हुने भएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाले घटीमा ९ वटा र बढीमा ११ वटा मन्त्रालय रहने प्रतिवेदन मुख्यमन्त्री समक्ष बुझाउनु भएको हो । प्रतिवेदन बुझे संगै मुख्यमन्त्री जम्मकट्टेलले अब ११ वटा मन्त्रालय कायम गरेर छिट्टै नै मन्त्रिपरिषद् गरिने बताउनुभयो । आफ्नो कार्यकालमा राज्यमन्त्री भने नराखिने मुख्यमन्त्री जम्मकट्टेलले स्पष्ट पार्नुभयो । समितिले मुख्यमन्त्रीलाई बुझाएको प्रतिवेदनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला मन्त्रालय, खानेपानी, उर्जा तथा सिँचाइ मन्त्रालय, पर्यटन उद्योग तथा सहकारी मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, श्रम, रोजगार तथा यातायात मन्त्रालय, सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालय कायम भएका छन् । प्रमुख सचिब निरौलको संयोजकत्वमा जम्मकट्टेलले पुस २६ गते पाँच सदस्यीय कार्यदललाई १५ दिनभित्र प्रदेशको मन्त्रालयको अध्ययन गरेर संख्या निर्धारण गर्दै प्रतिवेदन बुझाउन निर्देशन दिनु भएको थियो । त्यही निर्देशन अनुसार कार्यदलले प्रतिवेदन बुझाएको हो ।













