बागमतीको सभामुखमा पाठक निर्वाचित
२९ पुस, हेटौँडा । बागमती प्रदेशसभाको सभामुखमा सत्तागठबन्धनका साझा उम्मेदवार राप्रपाका भुवन पाठक निर्वाचित हुनुभएको छ ।
प्रदेशभाको शुक्रबारको बैठकमा मतविभाजन गर्दा सत्तागठबन्धनका साझा उम्मेदवार राप्रपाका महामन्त्रीसमेत रहेका पाठक वाग्मती प्रदेशसभाको सभामुखमा निर्वाचित हुनुभएको हो । पाठकको पक्षमा प्रदेशसभाको बैठकमा उपस्थित एक सय नौ सांसदहरुमध्ये ६२ सांसदले मत दिएका थिए । सभामुखमा निर्वाचित भएसंगै सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै सभामुख पाठकले संसद्मा निष्पक्ष भुमिका निर्वाह गर्ने बताउनुभयो । सरकार सत्तापक्षको र संसद् प्रतिपक्षको हुने उहाँले जिकिर गर्नुभयो । सभामुख पाठकले संसद्मा तटस्थ भएर सत्तापक्ष र प्रतिपक्षलाई संगै मिलाएर लैजाने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र हाम्रो नेपाली पार्टीका सांसदहरुले पाठकलाई मतदान गरेका थिए । शुक्रबार नै उहाँले प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनियताको शपथ पनि लिनुभएको थियो ।













