बागमती प्रदेशको सभामुखमा ३ जनाको उम्मेदवारी दर्ता
२८ पुस, हेटौँडा । बागमती प्रदेशमा सभामुखका लागि ३ जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।
सत्ता साझेदार दलबाट राप्रपाका भुवन पाठक, नेपाली कांग्रेसका शिवराज अधिकार र नेपाल मजदुर किसान पार्टीकी सृजना सायजुले सभामुखका लागि उम्मेदवारी दर्ता गरेका छन् । सत्तारुढ दलहरुबीच मुख्य पदहरु भागवण्डा हुँदा बागमती प्रदेशको सभामुख राप्रपाले लिने सहमति भएको थियो । जस अनुसार राप्रपाका पाठक नेकपा एमाले र माओवादीसहितको समर्थनमा सभामुखको उम्मेदवार बनेका हुन् । पाठकलाई नेकपा एमाले प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रस्ताव र नेकपा माओवादी केन्द्रका युवराज दुलालले समर्थन गरेका छन् । बागमती प्रदेशमा सत्ता साझेदार पाँच दलसँग ७० सांसद छन् । यसैगरी सबैभन्दा ठूलो दल भएर पनि सत्ताबाहिर रहेको नेपाली कांग्रेससँग ३७ सांसद छन् । तर पनि कांग्रेसले अधिकारीलाई उम्मेद्वार बनाएको छ । उनको प्रस्तावकमा कुन्दनराज काफ्ले र रामकृष्ण चित्रकार समर्थक छन् । प्रदेशसभा ३ जना मात्र सांसद नेमकिपाले सायजुलाई उम्मेदवार बनाएको हो । नेमकिपाका सांसद सुरेन्द्रराज गोसाइँ सायजुको प्रस्तावक र गीता काफ्ले समर्थक बसेकी छिन् । सभामुखको लागि निर्वाचन शुक्रबार हुनेछ ।













