बागमतीको मुख्यमन्त्रीमा शालिकराम जम्मकट्टेल नियुक्त
२५ पुस, हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका शालिकराम जम्मकट्टेल नियुक्त हुनुभएको छ ।
बागमती प्रदेशमा नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, हाम्रो नेपाल पार्टीका ७० सांसदको हस्ताक्षर सहित माओवादीका संसदीय दलका नेता जम्मकट्टेल मुख्यमन्त्री बन्नु भएको हो । प्रदेश प्रमुख यादवचन्द्र शर्माले जम्मकट्टेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । एमालेका २७, माओवादीका २१, राप्रपाका १३, नेकपा एकीकृत समाजवादीका ७ र हाम्रो नेपाल पार्टीका २ गरी ७० प्रदेशसभा सदस्यले शालिकरामलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै प्रदेश प्रमुख शर्मालाई दाबी पत्र बुझाएका थिए । नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा शालिकराम मुख्यमन्त्री बनेका हुन् । उहाँधादिङ निर्वाचन क्षेत्र १ (२) बाट निर्वाचित हुनुभएको थियो ।













