बागमतीमा ५ दिनभित्र सरकार गठन गर्न प्रदेश प्रमुखको आह्वान
२१ पुस, हेटौँडा । बागमती प्रदेश प्रमुखको कार्यालयले ५ दिनभित्र सरकार गठन गर्न आह्वान गरेको छ ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले यही पुस २५ गते सोमबार दिँउसो ४ बजेभित्र मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गर्नुभएको हो । प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गर्नुभएको हो । कुनै पनि दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने व्यक्तिको नेतृत्वमा सरकार गठन हुनेछ । ११० सदस्य रहेको बागमती प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको ३७ जना, एमालेका २७ जना, माओवादी केन्द्रका २१ जना, राप्रपाका १३ जना, नेकपा एकीकृत समाजवादीका ७ जना, नेमकिपाका तीन जना र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् । सरकार गठनका लागि ५६ जनाको सांसदको समर्थन चाहिन्छ ।














