बागमती प्रदेशः सभामुखको निर्वाचन पुस २९ गते, ५ वटा अध्यादेश प्रस्तुत

स्वर्णिम खबर
१८ पुष २०७९, सोमबार १७:४०

१८ पुस, हेटौँडा । बागमती प्रदेशसभामा ५ वटा अध्यादेश प्रस्तुत गरिएको छ ।
प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले अध्यक्षता गरेको बैठकमा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको तर्फबाट आन्तरिक मामिला तथा काकूमन्त्री कृष्णप्रसाद शर्मा खनालले प्रदेश निजामती सेवाको गठन, संचालन र सेवाको शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९ र स्थानीय तहका सेवाको गठन तथा संचालन सम्बन्धमा व्यवस्थान गर्न बनेको अध्यादेश, २०७९ प्रस्तुत गरेका थियो । यस्तै, बैठकमा स्वास्थ्य मन्त्री निमा लामाको तर्फबाट सँस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश प्रस्तुत गर्नुभएको थियो भने कृषि तथा पशुपन्छी विकासमन्त्री बसुन्धरा हुमागाईले प्रदेश कृषि सम्बन्धमा व्यवस्थान गर्न बनेको अध्यादेश २०७९ र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले प्रदेश हस्तकलाग्राम स्थापना तथा संचालनको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९ प्रस्तुत गर्नुभएको थियो ।
यसैगरी बैठकमा प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधन समेत) लाई अंगिकार गरी बैठक सञ्चालन गर्ने प्रस्ताव बहुमतले पारित गरेको छ ।
बैठकले प्रदेशका सभामुख र उपसभामुखको चयनका लागि पुस २९ गते शुक्रवार बिहान ११ बजे निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*