राप्रपालाई जनताले सरकारमा जान म्याण्डेट दिएको छैनः दिपकबहादुर सिंह
१७ मंसिर, हेटौँडा । मकवानपुर क्षेत्र नं. १ का सांसद् दिपकबहादुर सिंहले राप्रपालाई जनताले सरकारमा जान म्याण्डेट नदिएको बताउनुभएको छ ।
ग्रीनलेज बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्नुुहुँदै उहाँले प्रतिपक्षमा रहेर सरकारलाई खबरदारी गर्ने बताउनुभयो । राप्रपाका केन्द्रिय सदस्य समेत रहनुभएका सिंहले विचार र उद्देश्य मिल्नेलाई संसद्मा समर्थन गर्ने स्पष्ट पार्नुभयो । चुनावमा आफुले जनतासंग गठबन्धन गरेकै कारण एमाले र कांग्रेस नेतृत्वको गठबन्धनलाई पराजित गर्न सकेको उहाँले बताउनुभयो । नेता सिंहले सहकारीको क्षेत्रलाई सरकारले बेवास्ता गरेको भन्दै असन्तुष्टि जनाउनुभयो । सहकारीको समस्यालाई संसद्मा उठाउने उहाँले आश्वासन समेत दिनुभयो ।
कार्यक्रममा सहकारीका अध्यक्ष महेन्द्र इटेनीले अध्यक्षको प्रतिवेदन, सचिव ऋषि कुमार ढकालले संस्थाको उपलब्धि एवम् भावी योजना सहितको प्रतिवेदन र कोषाध्यक्ष गोपी प्रसाद न्यौपानले आयव्यय विवरणको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारणसभाको अवसरमा सहकारीले असल ऋणी, असल बचत कर्ता, २०७८ सालको एसईईमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरीलाई पुरस्कृत समेत गरेको थियो । कार्यक्रममा विभिन्न सहकारीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।













