हेटौँडा बजार क्षेत्रभित्र १६–१६ मिटर सडक फराकिलो हुन्छः मुख्यमन्त्री पाण्डे

स्वर्णिम खबर
२८ भाद्र २०७९, मंगलवार १६:३६

२८ भाद्र, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले हेटौँडा बजार क्षेत्रभित्र १६–१६ मिटर सडक फराकिलो बनाउने बताउनुभएको छ ।
मंगलबार मुख्यमन्त्री कार्यालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री पाण्डेले हेटौँडा बजार क्षेत्रको मुख्य सडक फराकिलो बनाउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा समेत सकारात्मक रहेको दाबी गर्नुभयो । सडक फराकिलो बनाउने विषयमा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष, कांग्रेस सह–महामन्त्री डिना उपाध्याय सहित आफुले प्रधानमन्त्रीलाई भेटेर छलफल गरेपछि प्रधानमन्त्री देउवा सकारात्मक हुनुभएको मुख्यमन्त्री पाण्डेले बताउनुभयो । विगत लामो समयबाट  विवादमा रहेको सडकको विस्तारलाई अब ढिला नगरी सुरु गरिने समेत मुख्यमन्त्री पाण्डेले उल्लेख गर्नुभयो ।
यसैगरी पत्रकार सम्मेलनमा मुख्यमन्त्री पाण्डेले हेटौंडाको हटियामा प्रदेशको मुख्यमन्त्री कार्यालय, मन्त्रालयहरु र संसद भवन समेत निर्माण गर्ने गरी तयारी थालिएको बताउनुभयो । उहाँले प्रादेशिक संरचना निर्माण प्रयोजनार्थ जग्गा छनोट गरेर स्वीकृतिका लागि संघीय सरकारमा पठाएको बताउनुभयो ।
चालु आर्थिक वर्षको बजेटमा एक अर्ब ५ करोड रुपैयाँ बजेट प्रदेशका मन्त्रालयहरु निर्माण गर्नका लागि छुट्याइएको मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*