ओलीको राजतन्त्रात्मक शैलीकै कारण नयाँ पार्टी खोल्नुपरेको होः मुख्यमन्त्री पाण्डे

स्वर्णिम खबर
२१ भाद्र २०७९, मंगलवार १६:५०

२१ भाद्र, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले एमाले अध्यक्ष केपी ओली राजा फालेपछिको अर्को राजतन्त्र भएको आरोप लगाउनुभएको छ ।
एकीकृत समाजवादीको भ्रातृ संगठन युवा संघ नेपालको महाकाली–मेची युवा जागरण अभियानलाई हेटौँडामा स्वागत गर्दै पार्टी उपाध्यक्ष समेत रहनुभएका पाण्डेले संविधानविरोधी गतिविधि, प्रतिगमन र संसद् विघटनजस्ता जनताको हितविपरीत कदम चालेर ओली नयाँ राजतन्त्रको स्वरूपमा देखिएका बताउनुभयो । मुख्यमन्त्री पाण्डेले ओलीको राजतन्त्रात्मक शैलीकै कारण नयाँ पार्टी खोल्नुपरेको स्पष्ट पार्नुभयो । राष्ट्रका सबै बामपन्थीहरुलाई एकीकृत गर्दै लैजानु नै पार्टीको मुख्य लक्ष्य भएको उहाँले दाबी गर्नुभयो ।
यसैगरी मुख्यमन्त्री पाण्डेले नेकपा एमाले स्थानीय तहको निर्वाचनपछि शिला खोज्नुपर्ने जस्तो अवस्थामा पुगिसकेको दाबी गर्नुभयो । स्थानीय तहको निर्वाचनमा महानगरपालिका, उपमहानगरमा एमाले पराजित भएको स्मरण गराउँदै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । आगामी प्रदेश र संघको निर्वाचनमा सत्तारुढ गठबन्धनबीच इमानदारिता कायम हुन जरुरी रहेको पनि उहाँले बताउनुभयो ।
अभियानलाई एकीकृत समाजवादी बागमती प्रदेशसभा सचेतक मुनु सिग्देल र हेटौँडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाले स्वागत गर्नुभएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*