डेरी उद्योग सञ्चालनको तयारी अन्तिम चरणमा
१८ श्रावण, हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिकामा दुग्ध प्रशोधन डेरी उद्योग सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ ।
करिब ६ करोड लागत रहेको उद्योगमा जडान भएका उपकरणहरुको प्रारम्भिक परीक्षण समेत सम्पन्न भइसकेकोे छ । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर १ मा सञ्चालनको तयारीमा रहेको उद्योगलाई प्रदेश सरकार, सहकारी बजार विकास कार्यक्रम (सिएमडिपी) र सहकारी संघको लगानीमा दुग्ध प्रशोधन उद्योग निर्माण गरिएको हो । प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष तथा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाले दुध उत्पादन गरेर मात्र नभई प्रशोधन गर्नको लागि पनि उद्योगको स्थापना गरिएको बताउनुभयो । उद्योगले उत्पादित परिकारहरुले बजारीकरण गर्न सहयोग पुग्नेमा अध्यक्ष देवकोटाको विश्वास छ ।

यस्तै जिल्ला दुग्ध उत्पादक सहकारी संघ मकवानपुरका अध्यक्ष बासुदेव अधिकारीले उपभोक्ताहरुको स्वास्थ्य प्रति सजग भएर अन्य निजी उद्योगहरुको तुलनामा यस उद्योगले गुणस्तरी दुधका परिकारहरु उत्पादन गर्ने बताउनुभयो । उद्योगले आइसक्रिम, पनिर,घ्यूँ, बटर (नौनी) र जिरा मोही पनि उत्पादन गरिने संघका अध्यक्ष बासुदेव अधिकारीले जानकारी दिनुभयो ।
उद्योगमा प्रदेश सरकारको ५७ लाख २० हजार, सहकारी बजार विकास कार्यक्रमको एक करोड ७१ लाख र सहकारी संघको ३ करोड लगानी परेको छ । २०७७ साल चैतबाट निर्माणको काम सुरु गरिएपनि कोरोना संक्रमणको जोखिमका कारण एक वर्ष पर धकेलिएको थियो ।













