थानकोट–चन्द्रागिरि–चित्लाङ सडक स्तरोन्नति गर्न संघीय मन्त्रीहरु सकारात्मक
१८ श्रावण, हेटौँडा । थानकोट–चन्द्रागिरि–चित्लाङ सडक स्तरोन्नति गर्न संघीय सरकारका मन्त्रीहरु सकारात्मक भएका छन् ।
थाहा नगरपालिका र चन्द्रागिरि नगरपालिकाका प्रतिनिधिहरु संगको छलफलका क्रममा भौतिक पूर्वाधार विकास मन्त्री मोहम्मद इस्तियाक राई र अर्थमन्त्री जनार्दन शर्मा सकारात्मक भएका हुन् । भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल र सडक बिभागका महानिर्देशक अर्जुन जंग थापा सहितको छलफलमा सडक बिभागले उक्त सडकको डिपिआर तयार गरेपछि सडक निर्माण र स्तरोन्नति गर्न लाग्ने बजेट सुनिश्चित गर्न दुबै मन्त्रीहरु सकारात्मक भएका हुन् । भौतिक पुर्बाधार बिकास मन्त्री राईले ५० करोड भन्दा कम लागतको डिपिआर तयार भए मन्त्रालयबाट नै बजेटको ब्यवस्था गर्ने ५० करोड भन्दा बढि लागत लाग्ने भए अन्य मन्त्रालयमा सिफारिश गर्ने आश्वासन दिनुभयो । अर्थमन्त्री शर्माले भौतिक मन्त्रालयबाट आएको योजनामा बजेट बिनियोजन गर्न आफु सकारात्मक भएको बताउनुभयो ।

यस्तै थाहा नगरपालिकाका प्रमुख बिष्णु बहादुर बिष्टले संघीय राजधानी र प्रदेश राजधानीलाई जोड्ने सबैभन्दा छोटो मार्ग भएकोले थानकोट चन्द्रागिरि चित्लाङ सडक स्तरोन्नति गर्न अत्यावश्यक भएको बताउनुभयो । छलफलमा त्रिभुवन राजपथको धादिङ नौबिसे सडक खण्ड जिर्ण भएकोले सो सडकको मर्मत गर्नको लागि समेत अनुरोध गरिएको माओवादी केन्द्र बागमती प्रदेश सदस्य इन्द्रबहादुर श्रेष्ठले बताउनुभयो ।
छलफलमा थाहा नगरपालिकाका प्रमुख बिष्णु बहादुर बिष्ट, चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरि, माओबादी नेता रामनारायण बिडारी, बिष्णुहरी ढकाल, नेपाली कांग्रेसका नेता जयराम लामिछाने, माओवादी केन्द्र बागमति प्रदेश सदस्य इन्द्रबहादुर श्रेष्ठ, थाहा नगरपालिका वडा नं. ९ का अध्यक्ष राजकुमार बलामी, वडा नं. ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी लगायतको सहभागिता रहेको थियो ।













