हेटौँडा ११ र १२ जोड्ने पक्की पुल निर्माण भएसंगै स्थानीय बासिन्दा खुशी
३० असार, हेटौँडा । हेटौडा उपमहानगरपालिका ११ र १२ जोड्ने पक्की पुल निर्माण भए संगै यस क्षेत्रका स्थानिय वासिन्दामा खुसी छाएको छ ।

वाग्मती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले २ सय १५ मिटरको पक्की पुल निर्माणका लागि २०७६ असोज २७ गते एलिट कन्स्ट्रक्सन कम्पनी प्रालि संग निर्माण सम्झौता गरेको थियो । ११ मिटर चौडाई र २१५ मिटर लम्वाई रहेको पक्की पुल निर्माणका लागि २७ करोड ४६ लाख २० हजार रुपैयाँमा ठेक्का सम्झौता भएको हो ।
२०७९ असोज २६ गते निर्माण सम्पन्न गर्नु पर्ने सम्झौतामा भए पनि तोकिएको समय सिमा भन्दा तीन महिना अगाडी पुल निर्माणको काम सकिएको भौतिक पूर्वाधार मन्त्रालयका प्रवक्त्ता हरि प्रसाद ओझाले बताउनुभयो ।

स्थानीय बासिन्दा
तोकिएको समयअगाडि नै पुल निर्माण सम्पन्न भएपछि स्थानीय खुसी भएका छन् । पक्की पुल र बाटो निर्माण भएसँगै हेटौडा १२ मा उत्पादन हुने खाद्यान्न बाली बजार ल्याउन सहज हुने स्थानीयहरुको भनाई रहेको छ । पुल निर्माण स्थान हेटौंडाबाट करिब ६ किलोमिटर पश्चिममा पर्छ ।













