बागमती प्रदेशमा ४३ प्रतिशत धान रोपाइँ
२६ असार, हेटौँडा । बागमती प्रदेशमा ४३ प्रतिशत धान रोपाइँ सकिएको छ ।
प्रदेशका १३ जिल्लामा ५१ हजार ३ सय हेक्टरमा मात्र रोपाइँ भएको हो । सबैभन्दा धेरै काठमाडौंमा ८० प्रतिशत र कम धादिङमा ११ प्रतिशत रोपाइँ भएको छ । यस्तै रामेछापमा ३५, दोलखामा ५०, ललितपुरमा ७५ र भक्तपुरमा ७० प्रतिशत धान रोपाइँ भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । यसैगरी सिन्धुलीमा ४५, काभ्रेमा ६१, सिन्धुपाल्चोकमा ४०, चितवनमा ४०, नुवाकोटमा ४५ रसुवामा ५५ र मकवानपुरमा २० प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता झलकनाथ कँडेलले जानकारी दिनुभयो । बागमती प्रदेशमा कुल धान उत्पादन हुने क्षेत्र १ लाख २० हजार ५ सय हेक्टर जमिनको ९० प्रतिशतमा यो वर्ष धान खेती हुने अनुमान रहेको प्रवक्ता कँडेलले बताउनुभयो ।

बागमती प्रदेशमा पछिल्लो केही वर्ष यता धान उत्पादन घट्दो क्रममा छ । कृषि पेशाप्रति किसानको घट्दो आकर्षण र सरकारको अस्पष्ट नीतिले धानको उत्पादन घट्दै गएको हो । आर्थिक वर्ष २०७७–०७८ मा ५ लाख ९ हजार ५ सय ९० मेट्रिक टन धान उत्पादन भएकोमा आर्थिक वर्ष २०७६÷०७७ मा ५ लाख १० हजार २ सय, २०७५÷०७६ मा ५ लाख २१ हजार ४ सय ४६ मेट्रिक टन धान उत्पादन भएको थियो ।













