प्रचण्डले आरोप फिर्ता नलिँदा नेकपा फुट्योः वामदेव गौतम
११ असार, काठमाडौँ । पूर्व उपप्रधानमन्त्री एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले पुष्पकमल दाहालका कारण नेकपा विभाजन भएको आरोप लगाउनुभएको छ ।
शनिवार नेकपा एकता राष्ट्रिय अभियानको कार्यक्रममा बोल्दै सदस्य गौतमले तत्कालिन अध्यक्ष दाहालले तत्कालीन अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध अविश्वासको प्रश्ताव ल्याएपछि नै ओलीले संसद् विघटन गरेको बताउनुभयो । उहाँले एउटा अध्यक्षले प्रधानमन्त्रीको बिरुद्धमा अविश्वासको प्रस्ताव ल्याउने र त्यसको जवाफमा प्रधानमन्त्रीले संसद नै विघटन गर्नु कुनै हिसावमा उचित नभएको टिप्पणी गर्नुभयो । सदस्य गौतमले कम्युनिष्ट एकताकै लागि आफू कुनै समूहमा नलागेको पनि बताउनु भयो । उहाँले वामदेवका कारण पार्टी विभाजित भयो भन्ने कुरा केही हदसम्म सत्य रहेकोले आत्मलोचना गरेको स्वीकार गर्नुभयो । उहाँले प्रधानमन्त्री र अध्यक्षमध्ये प्रधानमन्त्री पद छोड्न ओली तयार भइसकेको अवस्थामा पनि प्रचण्डले ओलीमाथि लगाएका आरोप फिर्ता नलिँदा पार्टी विभाजन भएको बताउनु भयो ।
राष्ट्रिय सभा सदस्य गोतमले नेपाली काँग्रेस पार्टी दलाल, नोकरशाही, पुँजीपति वर्गको पार्टी नभएको पछिल्ला घटनाक्रमले देखाएको बताउनु भयो । उहाँले काँग्रेस पुँजीवादी, सुधारवादी पार्टी हो भन्ने प्रमाणित भइसकेको तर काँग्रेसलाई सरकारको नेतृत्व दिँदा एमसीसीजस्ता सबैकुरा भित्रिने आरोप लगाउनुभयो । उहाँले एमसीसीलाई संसदबाट अनुमोदन गर्नपनि प्रधानमन्त्री शेरबहादुर देउवाले बाध्य पारेको बताउनुभयो ।
राष्ट्रिय सभा सदस्य गौतमले स्थानीय निर्वाचनको नतिजालाई हेर्दा नेपाली काँग्रेस आउँदो निर्वाचनमा पनि पहिलो पार्टी बन्ने देखिएको बताउनु भयो ।













