एसपीपी सम्झौतामा हस्ताक्षर गर्न सक्ने नेता महराको आशंका
६ असार, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता कृष्णबहादुर महराले नेपाली शासक झुकेर स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता गर्नसक्ने आशंका व्यक्त गर्नुभएको छ ।
सोमवार काठमाडौंमा भएको ३१ औँ किसान संघर्ष दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता महराले यस्तो बताउनुभएको हो । उहाँले सरकार, प्रतिपक्ष र विभिन्न राजनीतिक दलहरुले एसपीपी राष्ट्रहित विपरित् भनेपछि तत्कालका लागि सम्झौता रोकिएपनि शासक वर्ग झुकेर सम्झौतामा हस्ताक्षर हुनसक्ने आशंका गर्दै आम नागरिकहरु सचेत रहनुपर्ने बताउनु भयो । नेता महराले भित्रभित्रै सम्झौता गर्ने र ४÷५ महिनाको अन्तरालपछि कुरा सेलाउँदै जाँदा कुरा बाहिरिनसक्ने बताउनुभएको हो । उहाँले यो सम्झौताका लागि एमसीसीले ढोका खोलेको र एमसीसीसँग जोडिएको आईपीएसको अर्को रुपमा एसपीपीले नेपालमा स्थान पाएको उल्लेख गर्नुभयो । नेता महराले साम्राज्यवादको नियन्त्रणमा देश जानसक्नेतर्फ पनि आशंका उब्जिएको बताउनु भयो ।
पूर्व सभामुखसमेत रहनुभएका महराले देशको राज्यसत्ता साम्राज्यवादको नियन्त्रणमा जानसक्ने आशंका व्यक्त गर्दै सबै नागरिकहरु तत्काल राष्ट्रिय स्वाधिनताको आन्दोलनमा होमिनुपर्ने बताउनु भयो ।













