बागमती प्रदेशसभामा विनियोजन विधेयक पेश, विधेयकमाथि शनिबार छलफल हुने
१३ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेशसभा वैठकमा विनियोजन विधेयक २०७९ को सिद्धान्त र प्राथमिकता पेश गरेका छ ।
शुक्रबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको सिद्धान्त र प्राथमिकता सदनमा पेश गर्नुभएको हो । सरकारले असार १६ गते नीति तथा कार्यक्रम र असार १ गते आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेट ल्याउने कार्यक्रम रहेको छ । प्रदेश सरकारले कोरोना महामारीका कारण आर्थिक क्षेत्रमा परेको असरलाई न्यूनीकरण गर्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउने मन्त्री जम्मकट्टेलले दाबी गर्नुभयो। संघीयताको मर्म र भावना अनुसार नै यस वर्षको बजेट आउने मन्त्री जम्मकट्टेलले बताउनुभयो । विनियोजन विधेयक २०७९ को सिद्धान्त र प्राथमिकतामाथि छलफल शनिबारबाट सुरु हुने छ ।
शुक्रबार कै प्रदेशसभा बैठकमा पाँचवटा अध्यादेश पेश भएको छ । मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेश निजामती सेवा अध्यादेश २०७८ र स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश २०७८ संसद्मा पेश गर्नुभएको हो । आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णप्रसाद खनालले विभुषण सिफारिस तथा सम्मान र पदक सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश र स्वास्थ्य मन्त्री निमा लामाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश सभामा पेश गर्नुभएको हो । त्यसैगरी, युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले प्रदेश युवा परिषद ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश पेश गर्नुभएको हो । अधिवेशनको सुरुवात प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुले शुभकामना व्यक्त गरेका थिए ।













