हेटौँडा ६, १६ र १७ नं. वडामा गठबन्धनका उम्मेदवार बिजयी
४ जेठ, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नं. ६, १६ र १७ नं. मा गठबन्धनका उम्मेदवार बिजयी भएका छन् ।
वडा नं. ६ मा विष्णु प्रसाद दाहाल, १६ मा रामकृष्ण कोइराला र वडा नं. १७ मा उद्धव सत्याल निर्वाचित हुनुभएको हो ।
हेटौंडा ६ मा कांग्रेसका विष्णुप्रसाद दाहाल नेकपा एमालेका विश्वराज राईलाई ३३ मतले पराजित गर्दै बिजयी हुनुभएको हो । दाहालले १ हजार १ सय ८२ मत ल्याउँदा एमालेका राईले १ हजार १ सय ४८ मत ल्याउनुभयो । हेटौंडा ६ मा ३ हजार ४ सय ९७ मत खसेको थियो ।
यसैगरी वडा नं. १६ मा कांग्रेसका रामकृष्ण कोइराला निर्वाचित हुनुभएको छ । कोइरालाले आफ्नो प्रतिस्पर्धी उम्मेदवारलाई २ गुणाभन्दा बढी मतले पराजित गर्दै वडाध्यक्षमा निर्वाचित हुनुभएको हो । कोइरालाले २ हजार ४ सय ३८ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी नेकपा एमालेका बसन्त लामिछानेले १ हजार ९० मत मात्रै ल्याएका हुन् ।
यसैगरी वडा नं. १७ मा एमालेको लक्ष्मणबहादुर खुलाललाई ५१ मतले पराजित गर्दै कांग्रेसका उद्धव सत्याल निर्वाचित हुनुभएको हो । सत्यालले १ हजार ३ सय १४ मत ल्याउँदा खुलालले १ हजार १ सय ३६ मत ल्याउनुभयो ।













