हेटौंडाको मेयर समाजवादीलाई, एकल उम्मेदवारी दिने कांग्रेसको चेतावनी
७ वैशाख, हेटौँडा । हेटौँडा उपमहानगरपालिकाको मेयर पद नेकपा एकीकृत समाजवादीलाई दिने गठबन्धनको निर्णय पुनरावलोकन गर्न कांग्रेस उपमहानगर समितिले माग गरेको छ ।
बुधबार पत्रकार सम्मेलन गरी उपमहानगर समितिले एकीकृत समाजवादीलाई मेयर दिने गठबन्धनमा सहमति भएको प्रति ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेस उपमहानगर सभापति उत्सव इटेनीले नेतृत्वलाई निर्णय सच्याउन माग गरिएको बताउनुभयो । उपमहानगरपालिकाको बस्तुगत अवस्थाबारे यसअघि नगर समितिका तर्फबाट पार्टीको केन्द्रीय कार्यसमितिका पदाधिकारीहरूलाई जानकारी गराए पनि बेवास्ता भएको इटेनीको भनाइ छ । गठबन्धनले निर्णय पुनरावलोकन नगरे सत्ता साझेदार गठबन्धनका दलहरूसँग मित्रवत् प्रतिस्पर्धा मात्रै गर्न सकिने उहाँले बताउनुभयो ।
गठबन्धनको बैठकले देशका ११ वटा उपमहानगरको भागबण्डामा हेटौंडाको मेयर समाजवादीलाई दिने निर्णय गरेको थियो । हेटौँडाको मेयरमा एकीकृत समाजवादीबाट जिल्ला अध्यक्ष श्रीधर पोखरेल र उपाध्यक्ष तथा वर्तमान उपमेयर मिनाकुमारी लामाको नाम सिफारिस भएको छ ।













