तत्काल कुनै पनि क्षेत्रमा लोडसेडिङ हुँदैनः कुलमान घिसिङ
१० चैत्र, हेटौँडा । नेपाल विद्युत प्राधिरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तत्काल कुनै पनि क्षेत्रमा लोडसेडिङ नहुने बताउनु भएको छ ।
बिहिबार नेपाल विद्युत प्राधिरकणमा पत्रकार सम्मेलन गर्दै निर्देशक घिसिङले भारतबाट आयात हुने विद्युतमा समस्या भएकाले मंगलबार देखि विद्युत कटौती गरिएको तर लोडसेडिङ नै हुन अवस्था नभएको बताउनु भएको हो । उहाँले पछिल्लो समय भारतमा बिजुलीको मूल्य अत्याधिक मात्रामा आकासिएकोले मंगलबारदेखि प्राधिकरणले विद्युत आयात नगरेकाले उद्योगमा विद्युत कटौती गर्नु परेको बताउनु भयो । घिसिङले भारतबाट आयात हुने विद्युतमा समस्या आएकाले विद्युत कटौती गरिएको तर लोडसेडिङ नै हुने अवस्था नभएको स्पष्ट पार्नु भयो । उहाँले प्राधिकरणले आज बेलुका १२ बजेदेखि महँगो मूल्यमा आयात गरेर औद्योगिक क्षेत्रमा बिजुली दिने तयारी गरेको बताउनु भयो । प्राधिकरणले प्रति युनिट नेपाली ३८ रुपैयाँ महँगो दरमा भारतबाट बिजुली किनेर औद्योगिक क्षेत्रमा आपूर्ति गर्न लागेको घिसिङको भनाई छ । घिसिङले विश्वभर नै विद्युत अभावको समस्या बढेकाले नेपालमा समेत त्यसको असर परेको हुँदा छोटो समय मात्रै नेपालमा प्रभाव देखिने बताउनु भयो । भारतबाट प्रतियुनिट ३८ रुपैयाँमा ४०० मेगावाटसम्म बिजुली आयात गरेर उद्योगहरुमा विद्युत दिने तयारीमा प्राधिकरणले गरेको घिसिङले बताउनु भयो ।
त्यस्तै, निर्देशक घिसिङले रुस र युक्रेन बीचको तनावको कारण विश्वभर विद्युत आयातमा समस्या बढ्दै गएको बताउनु भयो । उहाँले नेपालमा ८ महिना विद्युत आयात गर्नु नपर्ने अवस्था रहेको बताउनु भयो । तर, ४ देखि ५ महिनाको लागि करिव ४०० मेगावट विद्युत आयात गर्नुपर्ने अवस्था रहेको बताउनु भयो । अहिलेको यो अवधि विद्युत उत्पादन कम हुने र माग बढ्ने भएकाले पनि विद्युत व्यवस्थापनमा समस्या देखिएको घिसिङले बताउनु भयो । भारतमा विद्युत अभावको समस्याको कारण प्राधिकरणले गरेको सम्झौता अनुसार विद्युत आयात नसकेकोले समस्या भएको घिसिङले बताउनु भयो ।
त्यस्तै, घिसिङले प्राधिकरणले नेपालमा खपत हुनेमध्ये ३० प्रतिशत विद्युत आयात गरिहेको बताउनु भयो । कार्यकारी निर्देशक घिसिङले चालु आर्थिक वर्षको माघ महिनासम्म ४ अर्ब रुपैयाँको विद्युत आयात गरेको बताउनु भयो । उहाँले छोटो समयको लागि भए पनि महँगोमा विद्युत किनेर उद्योग सञ्चालन गर्ने र लोडसेडिङ हुन नदिने बताउनु भयो । घिसिङले अहिले केही समस्या आएपनि लोडसेडिङ नहुने भन्दै उद्योगीहरुले ढुक्क भएर विद्युत खपत गर्न आग्रह गर्नु भयो ।
कार्यकारी निर्देशक घिसिङले महँगोमा विद्युत आयात गरे पनि उद्योगहरुलाई विद्युतको मूल्य नबढाउने बताउनु भयो ।













