सुनसरी घटनाबारे संयोजक दाहाल–गोली चलाउनुपर्ने अवस्था थियो ?
१४ साउन, काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सुनसरीको कप्तानगञ्जमा भएको घटनामा सुरक्षा निकायको भुमिकालाई लिएर प्रश्न उठाउनुभएको छ ।
बिहिबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै दाहालले सो घटनामा सुरक्षाकर्मीले गोली नै चलाउनुपर्ने स्थिति थियो वा थिएन भन्नेबारे विस्तृत अध्ययन गरी वास्तविकता सार्वजनिक गर्न सरकारसँग माग गर्नुभएको हो । सुनसरीको कप्तानगञ्जमा बोलबम धार्मिक यात्राका क्रममा उत्पन्न विवादले उग्र रूप लिँदा भएको झडपमा ओमप्रकाश मेहताको मृत्यु भएको थियो । उक्त घटनाप्रति दुःख व्यक्त गर्दै दाहालले मृतकप्रति श्रद्धाञ्जली र घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो । सो विवादले साम्प्रदायिक विद्वेषको रूप लिन सक्ने भन्दै उहाँले यसतर्फ उच्च शतर्कता अपनाउनुपर्नेमा जोड दिनुभयो ।
सम्बोधनका क्रममा पूर्वप्रधानमन्त्री दाहालले देशको वर्तमान राजनीतिक परिस्थितप्रति पनि चिन्ता व्यक्त गर्नुभएको छ । निर्वाचनका समयमा जनता सामु गरिएका प्रतिवद्धता र प्रकट भएको जनअभिमतअनुसार सरकारका क्रियाकलापहरू अघि बढ्न नसकेको उहाँको टिप्पणी थियो । जनताको अपेक्षा र सरकारको कार्यसम्पादनबीच तालमेल नहुँदा परिस्थिति दिनानुदिन असहज बन्दै गएको उहाँले बताउनुभयो ।
त्यसैगरी पूर्वप्रधानमन्त्री दाहालले जनताको ठूलो आशा र अपेक्षाका साथ वर्तमान सरकार गठन भएपनि सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको क्षेत्रमा अपेक्षाकृत काम हुन नसकेको बताउनु भयो । उहाँले सरकारका पछिल्ला गतिविधिहरूले नकारात्मक उदाहरण प्रश्तुत गरेको भन्दै सुकुम्वासी समस्या, ट्रेड युनियनको अधिकार, विद्यार्थीका सवाल र भौगोलिक सीमाना जस्ता संवेदनशील विषयमा सरकार गम्भीर नदेखिएको आरोप लगाउनु भयो । लगानी, उत्पादन, रोजगारी, पुँजीगत खर्च र राजस्व संकलन जस्ता आर्थिक सूचकहरू सन्तोषजनक नभएको र कर प्रणालीका कारण जनतामा त्रास पैदा भएको उहाँको भनाइ छ ।
संयोजक दाहालले संविधान संशोधन र लोकतन्त्रको सुदृढीकरणका नाममा सरकारले चालेका कदमहरूले प्राप्त उपलब्धिहरूलाई कमजोर बनाउन सक्ने बताउनुभयो । लामो सङ्घर्ष र ठूलो बलिदानबाट प्राप्त समावेशी लोकतन्त्र सहितको वर्तमान संविधानलाई पुनर्लेखन गर्ने वा कुनै बहानामा कमजोर पार्ने उद्देश्यले सरकार अघि बढेको त होइन भनी उहाँले सरकारलाई प्रश्न गर्नुभयो । उहाँले सरकारका पछिल्ला कामकारबाहीले मुलुक निरङ्कुशतातर्फ जाने हो कि भन्ने चिन्ता आम जनतामा पैदा भएको उल्लेख गर्नुभयो । पूर्वप्रधानमन्त्री दाहालले सरकारले शान्ति सुरक्षा कायम गर्न, सुशासन दिन र जनताको आर्थिक विकास तथा समृद्धिको आकाङ्क्क्षालाई सम्बोधन गर्न नसकेको टिप्पणी गर्नुभयो ।
यस्तो अवस्थाले मुलुकलाई असफल राष्ट्र बनाउने र अर्को ठूलो दुर्घटना निम्त्याउने खतरा रहेको भन्दै उहाँले गहिरो चिन्ता व्यक्त गर्नुभयो ।















