मानिस निर्यात गरेर देश बन्दैनः प्रधानमन्त्री साह
५ साउन, काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र साहले मानिस विदेश निर्यात गरेर मात्रै देश नबन्ने बताउनुभएको छ ।
मंगलवार तयारी पोशाक उद्योग संघका पदाधिकारीहरुसँगको भेटमा प्रधानमन्त्री साहले देश बनाउन मानिस नभई मान्छले उत्पादन गरेका सामग्री निर्यात गर्नुपर्ने बताउनुभएको प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डेले जानकारी दिनुभयो । प्रधानमन्त्री साहले सरकारले तयारी पोशाक उद्योगका समस्या समाधान, निर्यात विस्तार र लगानी प्रवद्र्धनलाई प्राथमिकतामा राखेको पनि बताउनु भयो ।
अध्यक्ष पाण्डेका अनुसार प्रधानमन्त्री साहले तयारी पोशाक उद्योग बंगलादेश, भियतनाम, चीन, भारत र श्रीलंकाभन्दा पछाडि पर्नुको कारणबारे पनि जिज्ञासा पनि राख्नुभएको थियो । पोशाक उद्योगसँग सम्बन्धित मन्त्रालयमा रोकिएका काम तत्काल समाधान गर्न पनि प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ । अमेरिका लगायतका मुलुकसँग स्वतन्त्र व्यापार सम्झौता (एफटीए), वैदेशिक प्रत्यक्ष लगानी (एफडिआई) भित्र्याउने, बहुराष्ट्रिय कम्पनी आकर्षित गर्ने तथा दुई दशकदेखि बन्द रहेका हेटौंडा कपडा उद्योगजस्ता रुग्ण उद्योग पुनः सञ्चालन गर्ने विषयमा पनि छलफल भएको अध्यक्ष पाण्डेले बताउनु भयो ।
प्रधानमन्त्री साहले उद्योगीहरूलाई स्पष्ट कार्ययोजना ल्याउन आग्रह गर्दै प्लान्ट–बेस्ड र एनिमल–बेस्ड फाइबर उत्पादन, कपास खेती, फाइबरदेखि फ्याब्रिक र फ्याब्रिकदेखि फेसन तथा निर्यातको विस्तारमा जोड दिनुभयो । सरकारले आवश्यक नीतिगत सुधार, एफटीए विस्तार र अन्तर्राष्ट्रिय बजारसँग प्रभावकारी समन्वय हुन सकेमा निर्यातलाई १० देखि २० गुणासम्म विस्तार गर्न सकिने अध्यक्ष पाण्डेले बताउनु भयो ।
प्रधानमन्त्री साहले उद्योगीसँग समस्या मात्रै नभएर समाधान पनि लिएर आउन आग्रह गर्नुभएको छ । तयारी पोशाक उद्योग संघका महासचिव भीमकुमार गिरीकाअनुसार समस्यासँगै समाधान पनि लिएर आए तत्काल समस्या समाधान गर्न सकिने प्रधामन्त्रीको भनाई छ ।















