बागमतीका पत्रकारलाई प्रादेशिक अस्पतालमा उपचारमा विशेष सहुलियत दिइने

स्वर्णिम खबर
३२ असार २०८३, बिहीबार १५:३४

३२ असार, हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेशभित्र क्रियाशील श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा स्वास्थ्य उपचार सेवामा विशेष सहुलियत उपलब्ध गराउने निर्णय गरेको छ ।
स्वास्थ्य मन्त्रालयले बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत उक्त निर्णय सार्वजनिक गर्दै मन्त्रीस्तरीय निर्णयअनुसार नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको सिफारिसका आधारमा सुविधा उपलब्ध गराइने जनाएको छ ।
स्वास्थ्य मन्त्री किरण थापा मगरले यसका लागि मन्त्रालयले सबै प्रादेशिक अस्पताललाई निर्णय कार्यान्वयन गर्न निर्देशनसमेत दिइएको छ । मन्त्री थापाले पत्रकारहरूलाई स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले यो व्यवस्था गरिएको बताउनुभयो । निर्णयअनुसार पत्रकारहरूले अन्तरंग (वार्ड) सेवामा क्याबिनबाहेक शतप्रतिशत छुट पाउनेछन् । आइसियू सेवामा ५० प्रतिशत, शल्यक्रिया सेवामा (क्याबिनबाहेक) ५० प्रतिशत तथा प्रयोगशाला सेवामा पनि ५० प्रतिशत छुट दिइनेछ ।
त्यसैगरी एक्स–रे, सिटी स्क्यान, एमआरआई तथा भिडियो एक्स–रे सेवामा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ भने प्रसूति सेवा पूर्ण रूपमा निःशुल्क उपलब्ध गराइने मन्त्रालयले जनाएको छ । पत्रकारले वर्षमा एकपटक स्वास्थ्य परीक्षण पनि निःशुल्क गर्न पाउने व्यवस्था गरिएको छ । आकस्मिक उपचार सेवा भने सरकारले तोकेको विद्यमान व्यवस्थाअनुसार उपलब्ध हुनेछ ।
मन्त्रालयले यसअघि नै अति गरिब, असहाय, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, लैंगिक हिंसापीडित, विपत् तथा प्राकृतिक प्रकोपबाट प्रभावित, गरिब तथा विपन्न आकस्मिक बिरामी, सीमान्तकृत तथा लोपोन्मुख आदिवासी–जनजातिलगायतका वर्गलाई प्रदान गर्दै आएको सहुलियतलाई निरन्तरता दिएको छ। अब त्यसमा श्रमजीवी पत्रकारलाई पनि समेटिएको हो ।
प्रदेश सरकारले पत्रकारहरूलाई उपचार सेवामा सहुलियत दिने निर्णयले सञ्चारकर्मीको स्वास्थ्य सुरक्षामा सकारात्मक सहयोग पुग्ने अपेक्षा गरिएको नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारू मगरले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*