मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रिफ्याब भवन उद्घाटन

शैक्षिक कार्यक्रम आफ्नै पूर्वाधारबाट सञ्चालन हुने
स्वर्णिम खबर
३१ असार २०८३, बुधबार १८:४८

३१ असार, हेटौँडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका शैक्षिक कार्यक्रमलाई व्यवस्थित, एकीकृत र स्थायी पूर्वाधारबाट सञ्चालन गर्ने उद्देश्यले निर्माण गरिएको प्रिफ्याब भवनको बुधबार उद्घाटन गरिएको छ ।
हेटौंडा उपमहानगरपालिका–१०, टीसिएन क्षेत्रमा निर्माण गरिएको भवनको बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो । कुल ८ करोड ६१ लाख रुपैयाँ लागतमा निर्माण गरिएको उक्त भवन प्रतिष्ठानले आफ्ना शैक्षिक तथा प्रशासनिक गतिविधि सञ्चालनका लागि निर्माण गरेको हो । भवन निर्माणका लागि प्रतिष्ठानले बिजी–साबिरा–चन्द्रायण जेभी, काठमाडौंसँग सम्झौता गरेको थियो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले २०७६ सालमा संघीय सरकारको अनुदानबाट सुरु गरिएको प्रतिष्ठानको स्थायी भवन निर्माण अझै सम्पन्न हुन नसक्नु दुःखद भएको बताउनुभयो । भवन निर्माणमा भएको ढिलाइले विद्यार्थीको भविष्यमा समेत असर परेको उल्लेख गर्दै उहाँले यसको जिम्मेवारीबारे गम्भीर समीक्षा आवश्यक रहेको धारणा राख्नुभयो । प्रतिष्ठानका संस्थापक कुलपति समेत रहनुभएका पौडेलले हाल विभिन्न चार स्थानमा भाडामा लिइएका भवनबाट सञ्चालन भइरहेका शैक्षिक कार्यक्रमलाई एउटै स्थानमा ल्याउने उद्देश्यले प्रिफ्याब भवन निर्माण गरिएको जानकारी दिनुभयो ।
यसबाट प्रत्येक वर्ष भाडामा खर्च हुँदै आएको करोडौं रुपैयाँ बचत हुने विश्वास व्यक्त गर्दै उहाँले अहिले निर्माण भएको भवन मात्र पर्याप्त नभएको र थप दुई वटा यस्तै भवन आवश्यक पर्ने बताउनुभयो । उहाँका अनुसार प्रतिष्ठानको प्रशासनिक कार्यालय, विद्यार्थीका लागि छात्रावास तथा प्राध्यापकका लागि आवासीय क्वार्टर निर्माण गर्न समेत थप पूर्वाधार आवश्यक छ । उहाँले प्रदेश राजधानी हेटौंडामा ठूला शैक्षिक तथा स्वास्थ्य पूर्वाधार निर्माण हुनु स्वाभाविक रहेको धारणा व्यक्त गर्नुभयो ।


स्वास्थ्यमन्त्री किरण थापा मगरले नवनिर्मित भवनबाट स्नातक तह (ब्याचलर) का शैक्षिक कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो । आगामी आर्थिक वर्षमा थप तीन वटा प्रिफ्याब भवन निर्माण गर्न सकिए प्रतिष्ठानका सम्पूर्ण शैक्षिक कार्यक्रम आफ्नै परिसरबाट सञ्चालन गर्न सकिने विश्वास उहाँले व्यक्त गर्नुभयो । मन्त्री थापाले हेटौंडा अस्पतालले दैनिक १५ देखि १६ सय बिरामीलाई ओपिडी सेवा प्रदान गरिरहेको र त्यसबाट बागमतीसँगै मधेश प्रदेशका नागरिक पनि लाभान्वित भइरहेको बताउनुभयो । उहाँले निकट भविष्यमा हेटौंडा अस्पतालमा बर्न तथा मुटुरोग (कार्डियो) सम्बन्धी विशेषज्ञ सेवा समेत सञ्चालन गरिने बताउनुभयो । मन्त्री थापाका अनुसार मानव अंग प्रत्यारोपण केन्द्रसँगको सहकार्यमा हेटौंडा अस्पताल र भक्तपुर अस्पतालमा क्याथल्याब सेवा विस्तार गर्ने तयारी भइरहेको छ ।प्रतिष्ठानका उपकुलपति प्रा. डा. प्रदीप ज्ञवालीले प्रतिष्ठानलाई निकट भविष्यमा विश्वविद्यालयका रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो । प्रदेश सरकारको लगानी मात्र पर्याप्त नहुने भएकाले थप स्रोत परिचालन गर्न विश्वविद्यालयको स्वरूप आवश्यक रहेको उहाँको भनाइ थियो । प्रतिष्ठान विश्वविद्यालयमा रूपान्तरण भएपछि प्रदेश राजधानी हेटौंडालाई मेडिकल सिटीका रूपमा विकास गर्न समेत टेवा पुग्ने उहाँले उल्लेख गर्नुभयो ।
भवन सञ्चालनमा आएपछि प्रतिष्ठानका शैक्षिक कार्यक्रम आफ्नै पूर्वाधारबाट सञ्चालन गरिने भएको छ । कार्यक्रममा भवन निर्माणमा योगदान पु¥याएको भन्दै निर्माण कम्पनी चन्द्रायण जेभीका प्रोप्राइटर राजकुमार अधिकारीलाई सम्मान समेत गरिएको थियो । हाल प्रतिष्ठानका विभिन्न कार्यक्रमहरू हेटौंडाको गौरिटार, हेटौंडा–११ स्थित नलेज भिलेज, हुप्रचौर र कमानेमा सञ्चालन भइरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*