अटिजम भएका बालबालिकाका अभिभावकसँग छलफल

स्वर्णिम खबर
१९ चैत्र २०८२, बिहीबार १८:५२

१९ चैत्र, हेटौँडा । विश्व अटिजम दिवसको अवसरमा हेटौंडा–४ स्थित सेन्टर फर अटिजमले अटिजम भएका बालबालिकाका अभिभावकसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
हरिकृष्ण मैनालीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा अपाङ महासंघ बागमती प्रदेशका सदस्य बद्री विक्रम थापाको प्रमुख आतिथ्यता रहेको थियो । अटिजम भएका बालबालिकाको उचित हेरचाह, शिक्षा र पुनःस्थापनाका लागि अभिभावककै पहलमा स्थापना गरिएको अटिजम सेन्टरले प्रभावकारी सेवा दिँदै आएको छ । अभिभावकको सक्रियतामा चार वर्षअघि स्थापना गरिएको उक्त सेन्टरमा हाल ३२ जना बालबालिका अध्ययनरत छन् । आफ्ना सन्तानको भविष्यप्रति चिन्ता र जिम्मेवारी बोध गर्दै तीन जना अभिभावकको पहलमा सुरु भएको सेन्टर अहिले अभिभावककै सहयोगबाट सञ्चालन भइरहेको संस्थाकी सचिव अस्मिता कालिकाले जानकारी दिनुभयो ।


सेन्टरमा बालबालिकाको बौद्धिक तथा समग्र विकासका लागि व्यवहारिक सिकाइ, डे–केयर सेवा, स्पिच थेरापी, बिहेव्यर थेरापी, अकुपेशनल थेरापी तथा अभिभावक–शिक्षक काउन्सिलिङ जस्ता कार्यक्रम सञ्चालन भइरहेका छन् । साथै फिजियोथेरापी, योग तथा ध्यान अभ्यास समेत गराइन्छ । बालबालिकालाई दैनिक जीवनमा आवश्यक सीप जस्तै आफैं खाना खाने, कपडा लगाउने, सरसफाइ गर्ने र नियमित दिनचर्या पालना गर्ने अभ्यास गराइन्छ । सञ्चार सीप विकासका लागि शब्द उच्चारण, संकेत मार्फत संवाद, चित्र तथा कार्ड प्रयोग गरी बुझ्ने र अभिव्यक्त गर्ने अभ्यास गराइने गरिएको छ । त्यसैगरी आधारभूत लेखाइ–पढाइ, रंग र आकार छुट्याउने, खेलमार्फत सिकाइ, समूहमा घुलमिल हुने तथा अनुशासन पालनाजस्ता गतिविधि पनि सञ्चालन भइरहेका छन् । प्रत्येक बालबालिकाको अवस्था र क्षमताअनुसार व्यक्तिगत सिकाइ योजना लागू गरिएको छ । सेन्टरका अनुसार हालसम्म सुधार भएका ५ जना बालबालिका विद्यालयमा भर्ना हुन सफल भएका छन् ।


सेन्टरमा बालबालिकालाई ‘ग्रीन’, ‘रेड’ र ‘एल्लो’ समूहमा वर्गीकरण गरी शिक्षण–सिकाइ सञ्चालन गरिन्छ । नियमित थेरापीसँगै सेन्सरी थेरापी पनि गर्ने गरिएको छ । सेन्सरी थेरापीले बालबालिकाको व्यवहार सुधार, ध्यान केन्द्रित गर्ने क्षमता वृद्धि तथा दैनिक जीवन सहज बनाउन मद्दत गर्ने थेरापिष्ट ग्रिष्मा मैनालीले बताउनुभयो ।
हाल सेन्टरमा १६ जना तालिमप्राप्त शिक्षक र २ जना थेरापिस्ट कार्यरत छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*