बागमती प्रदेशको सभामुखमा कांग्रेसले दाबी गर्ने
१७ चैत्र, हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले प्रदेशको समसामयिक राजनीतिक, प्रशासनिक तथा संगठनात्मक विषयमा व्यापक छलफल गर्दै महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ । काठमाडौँमा आज बसेको उक्त बैठक संसदीय दलका नेता तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा सम्पन्न भएको हो ।
बैठकले प्रदेशसभा बैठक लामो समयसम्म अवरुद्ध रहनु उचित नभएको निष्कर्ष निकाल्दै एक साताभित्रै प्रदेशसभा बैठक सञ्चालन गर्न प्रदेश सरकारलाई औपचारिक अनुरोध गर्ने निर्णय गरेको छ । प्रदेशको नीति निर्माण तथा प्रदेशबासीको समस्याका विषयमा प्रभावकारी छलफलका लागि प्रदेशसभा नियमित सञ्चालन अपरिहार्य रहेको बैठकले औंल्याएको छ ।
त्यसैगरी, बागमती प्रदेशसभा सभामुख पदमा नेपाली कांग्रेसले आफ्नो दाबी प्रस्तुत गर्ने निर्णयसमेत बैठकले गरेको छ । सभामुख पदमा आफ्नो नेतृत्व सुनिश्चित गर्दै प्रदेशसभाको कार्य सञ्चालनलाई प्रभावकारी बनाउनेतर्फ पार्टीले पहल गर्ने जनाइएको छ ।
प्रशासनिक पुनःसंरचनाका विषयमा बैठकले विशेष चासो व्यक्त गरेको छ । प्रदेश सरकारले गठन गरेको उच्चस्तरीय प्रशासनिक पुनःसंरचना समितिले पेश गरेको मस्यौदामा हाल रहेका १३ मन्त्रालयलाई घटाएर ७ मन्त्रालयमा सीमित गर्ने, ७ वटा निर्देशनालयलाई २ वटामा सीमित गरी ५ वटा खारेज गर्ने प्रस्ताव समावेश छ ।
साथै, हाल कायम रहेका कर्मचारी दरबन्दीमध्ये ७०१ जना कर्मचारी कटौती गर्ने विषय पनि मस्यौदामा उल्लेख गरिएको छ । बैठकले उक्त मस्यौदालाई सरकारमा सहभागी दुई दलबीच आपसी छलफलमार्फत परिमार्जनसहित पारित गर्ने प्रक्रियातर्फ अघि बढ्न सरकारलाई सुझाव दिएको छ । यसले प्रशासनिक संरचना चुस्त, प्रभावकारी र खर्च कटौतीमुखी बनाउने अपेक्षा गरिएको छ ।
बैठकले बहादुरसिंह लामालाई नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सह–महामन्त्री पदमा निर्वाचित भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।
साथै, पार्टीभित्र देखिएका आन्तरिक मतभेद तथा समस्याहरूलाई संवाद र सहमतिका माध्यमबाट शीघ्र समाधान गर्नुपर्नेमा जोड दिँदै आगामी १५औँ महाधिवेशनलाई पार्टी एकताको सशक्त सन्देश दिने अवसरका रूपमा उपयोग गर्न दुवै पक्षलाई आग्रह गरिएको छ ।
त्यसैगरी, बैठकले बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङका पिता, पूर्वमन्त्री तिर्थ लामाका पिता केशरबहादुर तामाङ तथा प्रदेशसभा सदस्य लक्ष्मी श्रेष्ठका पति रामेश्वर श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरिएको बैठकले जनाएको छ ।












