एकीकृत घुम्ती शिविरबाट राक्सीराङका स्थानीयवासीलाई सहज

स्वर्णिम खबर
१७ चैत्र २०८२, मंगलवार १८:४६

१७ चैत्र, हेटौँडा । “सेवा पाउने सबैको अधिकार, घरघरमा स्थानीय सरकार” भन्ने नारालाई आत्मसात् गर्दै मकवानपुरको राक्सिराङ गाउँपालिकाले आफ्नो सेवा प्रवाहलाई गाउँ–गाउँसम्म पु¥याएको छ ।
भौगोलिक रूपमा विकट क्षेत्रमा रहेका नागरिकलाई लक्षित गर्दै सञ्चालन गरिएको वृहत् एकीकृत घुम्ती शिविरले स्थानीयवासीलाई सहज रूपमा सरकारी सेवा उपलब्ध गराएको छ । चैत्र ११ गतेदेखि सुरु भएको शिविर चैत्र २० गतेसम्म पालिका ४ स्थानमा सञ्चालन हुनेछ । शिविरमार्फत नागरिकता वितरण, राष्ट्रिय परिचयपत्र कार्ड वितरण, अपाङ्गता परिचयपत्र, स्वास्थ्य परीक्षण, पशु स्वास्थ्य सेवा, कृषि विकास कार्यक्रम, औषधि तथा बीउ वितरण, कृषि औजार हस्तान्तरण, सुत्केरीका लागि पौष्टिक आहार वितरण, बेरोजगार सूचीकरण लगायतका सेवाहरू एकै स्थानबाट प्रदान गरिएको छ ।
१६ गते राक्सिराङ ९ कान्द्राङमा प्रमुख जिल्ला अधिकारी, गाउँपालिका प्रमुख, राष्टिय परिचयपत्र तथा पञ्जिकरण विभागका पञ्चिकरण शाखा निर्देशक सहितको टोलीले नागरिकताका साथै राष्ट्रिय परिचयपत्र वितरण गरेको हो । ३० जनालाई नागरिकता प्रमाणपत्र तथा एक हजार भन्दा बढीलाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको थियो । पालिकाका अधिकांश क्षेत्र विकट रहेकोले नागरिकता बनाउनका लागि हेटौंडा आउन चेपाङ समुदायलाई समस्या हुने गरेको थियो । भौगोलिक कठिनाइ, आर्थिक अभाव लगायतका कारण हेटौंडासम्म पुग्न दुई–तीन दिन लाग्ने बाध्यता रहेका स्थानीयका लागि यस्तो शिविर राज्यको प्रतयक्ष उपस्थितीको अनुभूति बनेको छ ।
शिवर सम्म पुग्न नसक्नेको लागि पालिकाले घरघरमा गएर समेत सेवा प्रवाह गरेको छ । राक्सिरा–४ की ५० वर्षीया सुन्तली परियारले पनि घरमै नागरिकता पाउँदा भावुक हुँदै खुसी व्यक्त गर्नुभयो । आठ सन्तानकी आमा परियार दुई वर्षअघि श्रीमान् गुमाएपछि एकल जीवन बिताउँदै आउनुभएको छ । नागरिकता अभावमा सामाजिक सुरक्षा भत्ता समेत नपाएको उहाँलाई प्रमुख जिल्ला अधिकारीसहितको टोलीले घरमै पुगेर नागरिकता प्रदान गरेको हो ।

यस्तै, राष्टिय पञ्जिकरण विभगका पञ्जिकरण शाखाका निर्देशक सानुबाबु अधिकारी सहितको टोलीले एक हजार भन्दा बढीलाई राष्टिय परिचयपत्र कार्ड वितरण गरिएको हो ।
यस अघि नै विवरण संकलन गराएका तर परिचयपत्र लिन धाएरै जानुपर्ने अवस्थालाई हेरेर पहिलोपटक राक्सिरा गाउँपालिकामा परिचयपत्र कार्ड वितरण गरिएको हो । शिविर मार्फत् ३० जनालाई नागरिकता र एक हजार लाई राष्टिय परिचयपत्र कार्ड वितरण गरिएको मकवानपुरका प्रमेख जिल्ला अधिकारी बसन्त अधिकारीले बताउनुभयो । नागरिकलाई सहज रुपमा सेवा सुविधा उपलब्ध गराउनु नै राज्य भएको महसुस दिनु भएको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बताउनुभयो । नागरिकको मुहारमा खुशी ल्याउनका लागि राष्ट्रसेवक कर्मचारी खटिनुपर्नेमा उहाँको जोड थियो ।
देशकै छैठौं गरिबीको सूचकमा पर्ने यस गाउँपालिकामा सामान्य नागरिकहरू पालिकासम्म सेवा लिन आउन नसक्ने अवस्था रहेकाले स्थानीय सरकारले आफैं गाउँसम्म पुग्ने रणनीति अवलम्बन गरेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो । सेवा प्रवाहसँगै विकास योजना निर्माण प्रक्रियालाई पनि जनतासँग जोड्ने प्रयास गरिएको गाउँपालिकाले जनाएको छ ।
यस्तै, पालिकामा रहेका ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई स्वास्थ्य जाँचका साथै सम्मानस्वरूप पौष्टिक आहार, झुल र छाता समेत वितरण गरिएको छ । चैत्र ११ गतेदेखि सुरु भएको वृहत् सेवा प्रवाह शिविर चैत्र २० गतेसम्म पालिकाका विभिन्न स्थानमा सञ्चालन हुने गाउँपालिकाले जनाएको छ। चैत्र ११ गते राक्सिराङ २ कुडुले, चैत्र १६ गते कान्द्राङमा शिविर आयोजना भैसकेको छ भने चैत्र १८ गते राक्सिराङ ८ पाम्बुङ र चैत्र २० गते राक्सिराङ ७ स्थित श्री आधारभूत विद्यालयमा वृहत् शिविर आयोजना हुने पालिकाले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*