एसईईको परीक्षा आजदेखि सुरु

स्वर्णिम खबर
१९ चैत्र २०८२, बिहीबार १२:१५

१९ चैत्र, हेटोँडा । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ ।
आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सम्पन्न भएको छ । त्यसैगरी चैत २० गते अनिवार्य नेपाली विषय, गैरनेपाली विद्यार्थीहरूका लागि अंग्रेजी (इलेक्टिभ इङलिस) को परीक्षा हुनेछ । चैत २२ गते अनिवार्य गणित र चैत २३ गते अनिवार्य विज्ञान तथा प्रविधि एवं संस्कृततर्फ शुक्लयजुर्वेद‚ सामवेद, अथर्ववेद, नीतिशास्त्र लगायत विषयको परीक्षा हुनेछ । २४ गते अनिवार्य सामाजिक, २५ गते ऐच्छिक प्रथम, २६ गते ऐच्छिक द्धितियको परीक्षा सञ्चालन हुनेछ ।
एसईई परीक्षामा मकवानपुर जिल्लाबाट यस वर्ष ७ हजार १९२ परीक्षार्थी सहभागी भएका छन् ।
गत वर्षको तुलनामा यस वर्ष परीक्षार्थी संख्या घटेको देखिएको छ । अघिल्लो वर्ष जिल्लाबाट ७ हजार ४५६ विद्यार्थी एसईईमा सहभागी भएका थिए ।
मकवानपुर जिल्लास्थित १ सय ५ वटा सामुदायिक तथा ३७ वटा संस्थागत विद्यालयका छात्रछात्रा यस वर्षको एसईई परीक्षामा सहभागी भएका हुन् ।
शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरका अनुसार नियमिततर्फ ५ हजार ५२७ र ग्रेडवृद्धितर्फ १ हजार ६५ जना गरी कुल ७ हजार १९२ परीक्षार्थीले परीक्षा दिएका छन् ।
त्यसैगरी एसईईको लागि जिल्लामा २८ केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले जनाएको छ ।
शैक्षिक क्यालेन्डरअनुसार चैत पहिलो साता परीक्षा हुनुपर्ने हो । तर फागुन २१ गतेको प्रतिनिधिसभा चुनावको कारण चैत्र १९ गते धकेलिएको हो । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षाको सबै तयारी पूरा भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण सम्बन्धित परीक्षा केन्द्रबाटै गर्ने भएको छ । एक महिना भित्र नतिजा सार्वजनिक गर्ने योजना अनुसार परीक्षा जहाँ भएको हो, त्यहीँबाट उत्तरपुस्तिका परीक्षण गर्न लागिएको हो ।
यसअघि एसईईको नतिजा असार दोस्रो सातातिर सार्वजनिक हुने गरेको थियो । परीक्षा बोर्डले क्यालेन्डर बनाएर नतिजा सार्वजनिक गर्ने गरेको थियो । तर ढिलागरी नतिजा सार्वजनिक हुनेगरेको गुनासो आउने गरेको थियो । ढिला नतिजा आउँदा विद्यार्थीमा मनोवैज्ञानिक असर पर्नुका साथै ब्रीज कोर्स जस्ता कक्षा सञ्चालन गरेर विद्यार्थीलाई अनावश्यक तनाव दिने गरेको गुनासो आउने गरेको थियो । मन्त्रालयले एसईई पछिको ब्रीज कोर्सका कार्यक्रम सञ्चालनमा रोक लगाउने निर्णय गरिसकेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*