आर्थिक गणनाको लागि मकवानपुरमा ९ जना सुपरभाइजरसहित ६८ जना गणक खटिने
१८ चैत्र, हेटौँडा । आगामी वैशाख २ गतेदेखि असार ७ गतेसम्म सञ्चालन हुने आर्थिक गणनाका लागि मकवानपुर जिल्लामा कुल ६८ जना जनशक्ति परिचालन गरिने भएको छ ।
आर्थिक गणना कार्यालयका रुद्र बोगटीका अनुसार मकवानपुरमा ९ जना सुपरभाइजरसहित ५९ जना गणक खटिनेछन ।
राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालनका सम्बन्धमा बुधबार सरोकारवाला निकायबीच भएको अन्तरक्रिया तथा छलफल कार्यक्रममा उहाँले आर्थिक गणनाको आवश्यकता, उद्देश्य तथा समेटिने क्षेत्रबारे प्रस्तुतीकरण दिनुभएको थियो । स्थानीय तहअनुसार हेटौंडा उपमहानगरपालिकामा सबैभन्दा बढी ३२ जना गणक परिचालन गरिनेछ । नेपालमा वि.सं २०७५ मा पहिलोपटक सुरु गरिएको आर्थिक गणना यस वर्ष दोस्रोपटक हुन लागेको हो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले संकलित तथ्यांक पूर्ण रूपमा गोप्य राखिने र कुनै पनि व्यक्तिको विवरण प्रमाणका रूपमा प्रयोग गर्न नपाइने कानुनी व्यवस्था रहेको जानकारी दिँदै निर्धक्क रूपमा सही विवरण उपलब्ध गराउन आग्रह गर्नुभयो । राष्ट्रिय आर्थिक गणनाले देशको वास्तविक आर्थिक अवस्था, उद्योग–व्यवसायको स्थिति, लगानीको प्रवृत्ति तथा रोजगारीको यथार्थ तथ्यांक उपलब्ध गराउने विश्वास व्यक्त गरिएको छ । यसले नीति निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
नाङ्लोमा पसल राख्ने साना व्यवसायदेखि ठूला उद्योग प्रतिष्ठानसम्म सबै प्रकारका औपचारिक तथा अनौपचारिक आर्थिक गतिविधि गणनामा समेटिनेछन् । दर्ता भएका वा नभएका, आर्थिक कारोबार गर्ने सबै प्रकारका व्यवसायको विवरण संकलन गरिने जनाइएको । आर्थिक गणनाको मुख्य उद्देश्य देशभर सञ्चालनमा रहेका आर्थिक गतिविधिको आधारभूत विवरण संकलन, प्रशोधन, विश्लेषण तथा प्रकाशन गर्नुका साथै कुल गार्हस्थ उत्पादन तथा राष्ट्रिय लेखा प्रणालीलाई सुदृढ बनाउन आवश्यक तथ्यांक उत्पादन गर्नु रहेको छ ।
यसअघि वि.सं २०७५ मा गरिएको गणनाअनुसार मकवानपुरमा १६ हजार प्रतिष्ठान तथा व्यवसाय दर्ता भएका थिए, जसमा ४६ हजार ५८२ जनशक्ति कार्यरत थिए । तीमध्ये ७ हजार ५९६ मात्रै औपचारिक रूपमा दर्ता भएको पाइएको थियो । अन्तरक्रियामा सहभागीहरूले राष्ट्रिय आर्थिक गणना २०८२ सफल बनाउन सबै क्षेत्रबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए । विभिन्न १८ वटा समूहका आर्थिक एकाइहरू एकैपटक समेटिने गरी गणना गरिने जनाइएको छ ।












