मकवानपुर १ मा पनि रास्वपाका गौतम निर्वाचित

स्वर्णिम खबर
२४ फाल्गुन २०८२, आईतवार १३:४९

२४ फागुन, हेटौँडा । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रकाश गौतम दोब्बर बढी मतले विजयी हुनुभएको छ ।
३७ वर्षीय हेटौंडा उपमहानगरपालिका–५ घर भएका गौतम ३६ हजार ३३ मत ल्याएर निर्वाचित हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले १४ हजार ३८ मत ल्याउनुभयो । प्रतिस्पर्धामा तेस्रो भएका नेकपा एमालेका रामेश्वर रानाले १२ हजार ७८३ मत प्राप्त गर्नुभयो । अघिल्लो निर्वाचनका विजेतासमेत रहेका राप्रपाका दीपकबहादुर सिंह छैठौं स्थानमा खुम्चिँदै ४ हजार ५७४ मतमा चित्त बुझाए ।
यस्तै, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का विजय गौतमले १० हजार ७८८, उज्यालो नेपाल पार्टीका सुरेन्द्र लामाले १० हजार २०५, श्रम संस्कृति पार्टीकी विद्या श्रेष्ठले १ हजार २४ मत ल्याएका छन् । १ नम्बर क्षेत्रमा ९५ हजार ३ सय १० मत खसेको थियो । निर्वाचित भएसंगै गौतमले प्रमाणपत्र समेत बुझ्नुभएको हो । उहाँलाई मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठले प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।
गौतमले प्रमाणपत्र बुझे पश्चात् सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै मकवानपुरे बासीको मतलाई खेर जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले जनताको मत माथि खेलेर भ्रष्टचार नगर्ने समेत उल्लेख गर्नुभयो । मकवानपुर–१ मा हरेक निर्वाचनमा मतदाताले फरक–फरक दललाई जिताउँदै आएका छन्। यस क्षेत्रलाई कहिले एमाले, कहिले कांग्रेस, कहिले माओवादी र कहिले राप्रपाको प्रभाव क्षेत्रका रूपमा पनि चिनिने गरेको छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*