देशमा विधिको शासन कायम हुन्छः सभापति लामिछाने
२३ फागुन, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अब देशमा विधिको शासन कायम हुने बताउनुभएको छ ।
शनिवार चितवन क्षेत्र नम्बर २ बाट विजयी भएपछि मतदातालाई धन्यवाद दिने क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रहरी प्रशासनलाई पार्टीले चलाउने परम्पराको अन्त्य हुने उद्घोष गर्नुभयो । सभालाई सम्बोधन गर्दै लामिछानेले रास्वपाले जितेपछि कर्मचारी र प्रशासनलाई तर्साउने काम नहुने स्पष्ट पार्नुभयो ।
उहाँले कानून सबैका लागि बराबर हुने भन्दै रास्वपाका नेता कार्यकर्तालाई पनि आम नागरिक सरह नै नियम लागू हुने बताउनु भयो । आफूहरुले कसैसँग प्रतिशोध नलिने तर पुराना बेथितिको हिसाव भने पक्कै लिने उहाँको भनाइ छ । लामिछानेले आफ्ना शत्रु कुनै पनि राजनीतिक दल वा नेता नभएको प्रष्ट पार्नुभयो । सरकारको नेतृत्वमा पुगेको भोलिपल्टै बत्तीको स्विच थिचेजस्तो सबै कुरा जादुमय ढंगले नबदलिने भएपनि सुशासनको डण्डा भने पहिलो घण्टाबाटै चल्ने उहाँले चेतावनी दिनुभयो ।
त्यसैगरी सभापति लामिछानेले आफ्नो पार्टीको नेतृत्वमा बन्ने सरकारले असंलग्न परराष्ट्र नीतिलाई कडाइका साथ कार्यान्वयन गर्ने बताउनुभयो । अन्तर्राष्ट्रिय समुदायलाई आश्वस्त पार्दै उहाँले रास्वपाको कुटनीति अब विकास कूटनीतिमा केन्द्रित हुने प्रष्ट पार्नुभएको हो । सभापति लामिछानेले सन्तुलित र एक अर्काप्रति पारस्परिक सम्मानपूर्वक परराष्ट्र नीतिमा अडिग रहने बताउनु भयो ।
देशको निजी क्षेत्र र उद्योगी व्यवसायीहरुलाई अब राजनीतिक दल र नेताहरुको चाकडी गर्नुपर्ने दिनको अन्त्य भएको उहाँले दाबी गर्नुभयो । स्वदेशमा लगानी गर्ने वातावरण बनाउन रास्वपाले विशेष नीति ल्याउने र त्यसले लगानीकर्ताको पूर्ण रक्षा गर्ने उहाँले उल्लेख गर्नुभयो ।
विभिन्न पेशा व्यवसायमा आवद्ध नागरिकहरुलाई नआत्तिन आग्रह गर्दै उहाँले पार्टीको वाचा पत्रअनुसार नै जनताको हक हितको रक्षाका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।













