मकवानपुरका दुबै क्षेत्रको मतगणना सुरु
२२ फागुन, हेटौँडा । मकवानपुरका दुईवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रको मतगणना सुरु भएको छ ।
बिहिबार सम्पन्न मतदानपछि मतदान केन्द्रहरूबाट मतपेटिका संकलन गरी मतगणना स्थलमा ल्याइए पनि आज भने केही ढिलो गरी मतगणना सुरु गरिएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका दुवै निर्वाचन क्षेत्रका सबै मतदान केन्द्रबाट मतपेटिका सुरक्षित रूपमा मतगणना स्थलमा ल्याइसकिएको थियो । मतपेटिका प्राप्त भइसकेपछि सर्वदलीय बैठक, आवश्यक तयारी तथा व्यवस्थापनका काम सम्पन्न गरी आज ढिलोगरी दिउसो देखि मतगणना प्रक्रिया सुरु गरिएको हो ।
मतगणनालाई व्यवस्थित र पारदर्शी बनाउन तारजालीसहितको मतगणना कक्ष, सीसीटिभी निगरानी तथा सुरक्षाकर्मीको कडा व्यवस्थासहित गणना सुरु गरिएको निर्वाचन कार्यालयले जनाएको छ । प्रत्येक वडाको मतपेटिका छुट्टाछुट्टै खोली गणना गर्ने व्यवस्था मिलाइएको छ ।
जिल्लामा रहेका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रको मतगणना एकैसाथ सुरु भएको र क्रमशः परिणाम सार्वजनिक गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणनास्थलमा उम्मेदवारका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको छ ।












