मकवानपुरमा ५९ प्रतिशत मत खस्यो, मतगणना शुक्रबार हुने
२१ फागुन, हेटौँडा । प्रतिनिधिसभा सदस्यका लागि बिहीबार भएको निर्वाचनमा मकवानपुरमा ५९ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठका अनुसार जिल्लामा रहेका कुल ३ लाख १५ हजार ४ सय ३४ मतदातामध्ये ५९ प्रतिशत अर्थात् करिब १ लाख ८६ हजार ५ सय ५१ मत खसेको हो । जसमध्ये ९६ हजार ६ सय ३४ पुरुष, ८९ हजार ९ सय १२ महिला र अन्य ५ जनाले मत हालेका थिए ।
२ वटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा क्षेत्र नं. १ मा ४७ हजार ६ सय ७० पुरुष, ४७ हजार ६ सय ३६ महिला र अन्य ४ जना गरी कुल ९५ हजार ३ सय १० जनाले मत हालेका थिए । त्यसैगरी क्षेत्र नं. २ मा ९१ हजार २ सय ४१ मत खसेको थियो । जसअन्तर्गत ४८ हजार ९ सय ६४ पुरुष, ४२ हजार २ सय ७६ महिला र अन्य १ जनाले मतदान गरेका थिए ।
यमतदान जिल्लाभर शान्तिपूर्ण रूपमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठले जानकारी दिनुभयो । मतदान सम्पन्न भएसँगै अहिले जिल्लाभरका मतदान केन्द्रबाट मतपेटिका संकलन गर्ने काम भइरहेको छ । हेटौँडा उपमहानगरपालिकाभित्रका मतदान केन्द्रका मतपेटिका मतगणना स्थल भुटनदेवी माध्यमिक विद्यालयमा ल्याउने क्रम जारी रहेको छ भने अन्य स्थानका मतपेटिका पनि आजै ल्याइने बताइएको छ। भौगोलिक अवस्थाका कारण मकवानपुरका केही मतदान केन्द्रका मतपेटिका भने छिमेकी जिल्लाको सडक प्रयोग गरेर ल्याउनुपर्ने अवस्था रहेको छ । प्रदेश निर्वाचन कार्यालय हेटौँडाका अनुसार क्षेत्र नम्बर–१ अन्तर्गत पर्ने बकैया गाउँपालिकाका तीन मतदान केन्द्रका मतपेटिका बारा र रौतहट हुँदै मतगणना स्थल ल्याइनेछ । बकैया–१ स्थित सरस्वती माध्यमिक विद्यालय मोरङे र वडा नम्बर–२ को बालविकास निमावि सरस्वती भमरा मतदान केन्द्रका मतपेटिका रौतहटको चपुर हुँदै ल्याइनेछ। त्यस्तै बकैया–६ स्थित राष्ट्रिय कालिका प्राथमिक विद्यालयको मतपेटिका बारा जिल्लाको निजगढ हुँदै ल्याइने निर्वाचन अधिकारी हरि ढकालले जानकारी दिनुभयो । यसैगरी, क्षेत्र नम्बर–२ अन्तर्गत पर्ने राक्सिराङ गाउँपालिकाका चार मतदान केन्द्रका मतपेटिका चितवन हुँदै ल्याइदैछ । वडा नम्बर–६ का राष्ट्रिय माध्यमिक विद्यालय सिलिङे र आयुर्वेद औषधालय सिलाधुनी, वडा नम्बर–७ का सातकन्या आधारभूत विद्यालय र दाम्राङ प्राथमिक विद्यालय तथा वडा नम्बर–८ स्थित ठूलो तोड्के मावि मतदान केन्द्रका मतपेटिका चितवनको राप्ती नगरपालिका–भण्डारा हुँदै मतगणना स्थल ल्याइनेछ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतपेटिका संकलन गरी शुक्रबार बिहान ७ बजेका लागि सर्वदलीय बैठक आह्वान गरिएको अधिकृत श्रेष्ठको भनाइ छ । उक्त सर्वदलीय बैठक सम्पन्न भएलगतै मतगणना सुरु गरिनेछ । मकवानपुर जिल्लाका दुवै निर्वाचन क्षेत्रको मतगणना स्थल भुटानदेवी माविलाई तोकिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरका अनुसार हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माविको दुईवटा ब्लकमा मतगणना गर्ने गरी तयारी गरिएको र सोही अनुसार मतगणना स्थलको सुरक्षा व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । मतगणना स्थलमा सीसीटीभी क्यामेरा सहित तार जाली लगाइएको छ ।
मुख्य निर्वाचन अधिकृत श्रेष्ठका अनुसार मकवानपुर–१ को मतगणना भुटनदेवी माध्यमिक विद्यालयको उत्तर तर्फको भवन (ब्लक ए) मा गरिनेछ भने मकवानपुर–२ को मतगणना सोही विद्यालयको (ब्लक बी) मा गरिनेछ । मकवानपुरमा कुल ४४ जनाको उम्मेदवारी परेको छ ।












