गाँजा खेतीलाई वैधानिक आयस्रोत बनाउने विष्टको प्रतिबद्धता
१८ फागुन, हेटौँडा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट मकवानपुर क्षेत्र नं. २ का उम्मदेवार लबशेर बिष्टले निर्वाचन क्षेत्रको समग्र विकासका लागि आफ्नो प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ ।
चुनाव प्रचार–प्रसारको अन्तिम दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा उहाँले वैधानिक गाँजा खेती, भौतिक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद तथा सुरक्षित बस्ती विकासलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो । उहाँको प्रतिबद्धतापत्रको पहिलो प्राथमिकतामा कानून संशोधनमार्फत गाँजालाई आयआर्जनको स्रोतका रूपमा विकास गर्ने उल्लेख गरिएको छ । औषधिजन्य प्रयोगका लागि निश्चित क्षेत्र छुट्याएर गाँजा खेती गर्न कानूनी व्यवस्था गर्ने उहाँको मुख्य प्राथमिकता रहेको छ । औषधि उत्पादनमा प्रयोग हुने गाँजाको सम्भावना र अन्तर्राष्ट्रिय बजारलाई ध्यानमा राख्दै वैज्ञानिक तथा कानूनी ढाँचाभित्र गाँजा खेती गर्न दिने उहाँको भनाइ छ ।
भौतिक पूर्वाधारतर्फ चित्लाङ–चन्द्रगिरी सुरुङ मार्ग निर्माणमा पहल गरिने, आवश्यक स्थानमा पुल तथा भवन निर्माण गरिने र क्षेत्रीय सडक सञ्जाललाई स्तरोन्नति गरी राष्ट्रिय राजमार्गसँग जोडिने योजना अघि सारिएको छ । पर्यटन क्षेत्रको विकासका लागि निर्वाचन क्षेत्रभित्रका महत्वपूर्ण पर्यटकीय स्थलको संरक्षण तथा सम्बद्र्धन गर्दै नयाँ पर्यटकीय गन्तव्य प्रवद्र्धनमा जोड दिइने प्रतिबद्धता जनाइएको छ । त्यस्तै, भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि विद्यमान कानून परिमार्जन गरी जग्गाधनी लालपुर्जा वितरणमा पहल गरिने बताइएको छ ।
नदी तटीय क्षेत्रका बस्ती संरक्षण, झोरा नियन्त्रणमा विशेष ध्यान दिर्दै सुरक्षित मानव बस्ती विकास र एकीकृत बस्ती अवधारणालाई अघि बढाइने उल्लेख छ । मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि विद्युतीय तारबार तथा कंक्रिट पर्खाल व्यवस्थापन गरिने, कृषि बालीमा भएको क्षति तथा पीडितलाई न्यायोचित क्षतिपूर्ति वितरणमा विशेष पहल गरिने उहाँले बताउनुभयो ।
खेलकुद क्षेत्रमा राष्ट्रियस्तरको खेल वातावरण निर्माण गर्दै खेलाडी उत्पादनका लागि आवश्यक भौतिक संरचना र प्राविधिक पक्षमा ध्यान दिइने प्रतिबद्धता व्यक्त गरिएको छ । कृषि क्षेत्रतर्फ खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार, कृषिको आधुनिकीकरण, भौगोलिक क्षेत्रअनुसार विशेष उत्पादन प्रणाली विकास तथा किसानलाई समयमा बीउ र मल उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखिएको छ ।
शिक्षा क्षेत्रमा गुणस्तरीय तथा सर्वसुलभ शिक्षामा सबै नागरिकको पहुँच सुनिश्चित गरिने र स्वास्थ्य क्षेत्रमा स्थानीय तहका अस्पतालमा आवश्यक जनशक्ति व्यवस्थापन गरी सहज र छरितो सेवा उपलब्ध गराइने प्रतिबद्धता जनाइएको छ । यसअघि स्थानीय तहको प्रमुख भएर उत्कृष्ट कार्य सम्पादन गर्नुभएका बिष्टले आफू ३० हजार मतान्तरले विजयी हुने दाबी गर्नुभएको छ । बिष्ट २०७४ सालको स्थानीय तह निर्वाचनमा थाहा नगरपालिकाको मेयरमा निर्वाचित हुनुभएको थियो ।












