बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी
११ माघ, हेटौँडा । राष्ट्रियसभा सदस्य निर्वाचनमा बागमती प्रदेशबाट कांग्रेस–एमाले गठबन्धनका उम्मेदवारहरू निर्वाचित भएका छन् ।
महिलातर्फ नेपाली कांग्रेसकी गीता देवकोटा र अन्य समूहबाट नेकपा एमालेका प्रेमप्रसाद दंगाल निर्वाचित भएका हुनुभएको हो । महिलातर्फ निर्वाचित देवकोटाले प्रदेश सभातर्फ ६० मतसहित ३ हजार १८० मतभार प्राप्त गर्नुभयो भने स्थानीय तहतर्फ १६१ मतसहित ३ हजार ५९ मतभार पाउनुभयो । उहाँले कुल ६ हजार २ सय ३९ मतभार प्राप्त गर्नुभएको निर्वाचन अधिकृत गीता श्रेष्ठले जानकारी दिनुभयो । त्यसैगरी अन्य समूहबाट निर्वाचित दंगालले प्रदेश सभातर्फ ५९ मतसहित ३ हजार १ सय २७ मतभार प्राप्त गर्नुभयो । स्थानीय तहतर्फ १ सय ६२ मतसहित ३ हजार ७८ मतभार पाउँदै उहाँले कुल ६ हजार २ सय ५ मतभार हासिल गर्नुभएको छ ।
महिलातर्फ नेकपाकी उम्मेदवार सरोजकुमारी झाले २ हजार ५ सय २२ मतभार प्राप्त गर्नुभयो भने नेमकिपाकी कविता महर्जनले १ सय ९७ मतभार पाउनुभया । अन्य समूहमा नेकपाका प्रेमप्रसाद सापकोटाले २ हजार ५ सय ४१ मतभार प्राप्त गर्नुभयो भने नेमकिपाका विक्रम ढुकुक्षुले १ सय ९७ मतभार पाउनुभयो । निर्वाचनमा प्रदेश तर्फको ३ मत र स्थानीय तहतर्फ ४ मत बदर भएको निर्वाचन अधिकृत श्रेष्ठले बताउनुभयो ।
निर्वाचनमा बागमती प्रदेशसभाका ८९ जना प्रदेशसभा सदस्य र स्थानीय तहका २ सय २९ जना प्रमुख तथा उपप्रमुख गरी कुल ३ सय १८ जनाले मतदानमा सहभागिता जनाएका थिए । प्रदेश सभातर्फ ४ हजार ७ सय १७ मतभार र स्थानीय तहतर्फ ४ हजार ३ सय ५१ मतभार खसेको थियो । कुल ९ हजार ०६८ मतभार खसेको निर्वाचन कार्यालयले जनाएको छ । हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो । निर्वाचनमा २० जना मतदाता अनुपस्थित रहे । अनुपस्थितमध्ये १५ जना प्रदेशसभा सदस्य र ५ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख रहेका छन् ।













